शुक्रवार साहित्य : “म अहिले देश सम्झिरहेकी छु”

हल्ला चलिरहेको छ
कोरोनाले नगलेको मेरो देश
भष्ट्राचारले गलिरहरेको छ
गिद्धले सिनो लुछे झै
छिमेकीले सिमाना लुछिरहेको छ
परदेशमा छु म तरपनि
मेरो नयन रसाइरहेको छ
घरको छाना चुहिरहेको होला
गाउँघरमा तन्नेरी नहुँदा,
आँखाहरू साउने झरी बन्दा हुन्
डाँडामाथिका जून अस्ताउन डराउँदो हो
डाँडाको लाकुरी
सुसाएको होला कि रोएको होला
गण्डकी र कालीको छाती
धड्किरहेको होला कि तड्पिरहेको होला
उनी कहीँ जाँदैनन्
उनलाई भेट्न कोही जाँदैन
अचेल त देउता पनि आइसोलेसनमा छन्
मठ मन्दिरमा पूजा आरधना बन्द हुँदा
देउतालाई प्रसाद कसले चढाउँदो होला?
साँच्चै देउतालाई भोक लाग्छ कि लाग्दैन हँ?
चराले मन्दिरको गजुरमा बिस्ट्याउदा
पिपल उम्रने मेरो देश
विश्वभर कहिलै कसैसँग नझुक्ने
वीर गोर्खालीहरूको मेरो देश
पातपातमा जडिबुटी
जराजरामा कन्दमूल भएको मेरो देश
युद्धका प्यासाहरूले भरिएको छ
मेरो बुद्धभूमि, मेेरो शान्तिभूमि
भ्रष्टाचार, घृणा र द्वेशले आक्रान्त छ
मेरो तपोभूमि, मेरो जन्मभूमि
म चिन्तित छु, यो बेला
झुप्रोमा चुलो धुँवायो कि धुवाँएन होला
बाथका बिरामी मेरा बा,
अस्पताल सम्म पुग्न पाए कि पाएनन् होला
आँगनको डिलमा बसेर
कोरोना महामारीको सुरसा मुखबाट
फर्केर आउने हो कि हैन जति टाऽऽऽढा
परदेशिएको सन्तान सम्झेर
टोलाईरहने मेरी आमाको
आँशु पुछ्ने पछ्यौरी च्यातियो कि उस्तै छ होला!!
संकटको बेला
आफ्नो भन्दा बढी पीर
आफ्नाको लाग्दो रहेछ
म अहिले आमा सम्झिरहेको छु
म अहिले देश सम्झिरहेको छु
मीना अधिकारी, फ्रान्स

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here