किर्ना – कविता (नमिता दवाडी) parisnepal.com

पीडा महसुस गर्दा हुन्,
चिलाउँदो हो,
सक -सक हुँदो हो,
हामीले टाङ मुनि बसेर चुसिरहँदा, 
के गरुन् त दाम्लोमा छन्,
बेस्सरी हकार्न मन लाग्दो हो,
न कसैले खोलिदिन्छ मोहोला,
न सुन्छन् निस्किएका आवाज अन्तस्करणबाट,
र पनि बेकार बकिरहन्छन्, बकिरहन्छन् मनहरु।।

म किर्नाहरुको माननीय!
आजै गुरुबरण गर मलाई!
म तिमीलाई,
म जस्तै सफल किर्ना हुन सिकाउँछु,
अहिल्यै बाट शुरु गर्छु,
आदर्श, निष्ठा र बिधानका कुरा,
सुन!
हाम्रो आदर्श,
जुन जिउमा टाँसिएका छौँ,
त्यहाँ कालो र मोटो रगत रहुन्जेल बेस्सरी चुस्नु पर्छ,
भुँडी फुट्ला- फुट्ला जस्तो हुने गरि,
तर कुनै पनि क्षण,
रगत रातो र पातलो हुन  थाल्यो भने,
आफ्नो निष्ठा सम्झिएर लुसुक्क बसाइँ सर्नु पर्छ,
घुस्रिहाल्नु पर्छ!
हरियो घाँसमा चरेर,
टुमुक्क भुँडी र 
पोटिला फिला भएको मालेको टाङ मुनि,
अनि खोजिहाल्नु पर्छ  ठूलो झ्याम्टा,
 नातावाद ,कृपावाद र गुटबन्दीको,
लुकेर चुसिरहन सुरक्षित झ्याम्टाहरुमा।

सुनिरहेका छौ होइन?
अब गर्छु म बिधानका कुरा,
मदिरा पिएर स्वास्नीका कुरा गर्न छुट छ,
रगत पिएका कुरा पेटमै रहनु पर्छ।
रगत पिएर मातिन पाउँछौ
खाली जिब्रो लर्बरिनु हुन्न,
लड्ने, पल्टिने र 
आफुलाई बदल्ने बारे सोच्नै हुन्न,
बरु,
इतिहाँस पल्टाउन मिल्छ,
भूगोल बदल्न मिल्छ,
बिरुद्धमा आवाज निकाल्ने बेकारका
घाँटी निमोठ्ने सामर्थ्य राख्नु पर्छ,
र गर्जन सक्नुपर्छ सधैं सिँह -आसनमा।

हो,
यसरी नै तहल्का मच्चाइरहनु पर्छ,
युवा किर्ना भएर सास रहुन्जेल,
हामीलाई हाम्रो वर्तमान प्यारो छ,
के फरक पर्छ भोलि  हरुवाहरुले
जयजयकार  गरुन् या पुत्ला जलाउन्,
जितेर गएको  किर्नाको!
मरेपछि जयजयकार हुने यो माटोमा,
भन्न सकिन्न,
हाम्रै सालिक बन्न  सक्छ भोलि,
लेखिन सक्छ इतिहाँसमा,
हाम्रै  नाम सुनौला अक्षरमा!!
त्यसैले,
कसैले नदेख्ने यो आत्मा रुन्छ कि चिन्ता नगर,
विश्वास डगमगाउने कुरालाई पनि हाबी हुन नदेउ,
एउटै आदर्श ,सिद्धान्त र निष्ठा  हामी किर्नाहरूको!
जस-जसको को टाङमुनि छिरेर भएपनि
अनन्त- अनन्त सम्म!
बाँचिरहनु पर्छ यो सगरमाथाको फेदीमा!!

नमिता दवाडी 
गोर्खा नेपाल 
हाल: न्युजिल्यान्ड 
29/6/2020

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here