महावीर पुन फ्रान्समा आउदै, “१५ मे” मा पेरिसमा अन्तरक्रिया कार्यक्रम हुने

राष्ट्रिय आविष्कार केन्द्रका सँस्थापक अध्यक्ष तथा नेपालमा सामाजिक क्षेत्रमा ख्यातिप्राप्त महावीर पुन युरोपमा हुने कार्यक्रमहरुको शिलशिलामा फ्रान्समा हुने विभिन्न कार्यक्रमहरुमा सहभागी हुन् यहि मे १५ तारिख फ्रान्स आउदै छन् ।
फ्रान्सवासी नेपालीहरु र विभिन्न संघसँस्थाहरुले महावीर पुन संग संयुक्तरुपमा एक विशेष अन्तरक्रिया तथा भेटघाट कार्यक्रम राख्ने भएका छन। पेरिसमा हुने कार्यक्रम मे १५, २०२२ आइतवारको दिन ३ पेरिस स्थित République मा हुने भएको छ। दिउसो १३:०० देखि १७:३० सम्म हुने कार्यक्रममा डा. पुन प्रति सम्मान तथा उनको नेतृत्वमा रास्ट्रिय आविस्कार केन्द्रले गर्दैआएका कामहरुको जानकारी साथै प्रश्न-उत्तर (अन्तरक्रिया) आदि कार्यक्रम रहने छन्। फ्रान्समा रहेका सम्पूर्ण सक्रिय नेपाली संघसँस्थाहरुको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो।

कार्यक्रमबारे जानकारी
मिति : 15 May 2022
स्थान : 1 bd saint-martin 75003 paris मेट्रो: République
समय : १३:०० देखि १७:३० सम्म

पेरिसका साथ साथै डा. महावीर पुन फ्रान्सको पश्चिम दक्षिणका शहरहरु साँ नाज़ेर (Nantes नजिकै) र आभिन्यों (Avignon) शहरमा पुगेर कार्यक्रममा सहभागी हुनेछन । साँ नाज़ेर स्थित “नमस्ते अन्फं दिमालय” नामक संस्थाले पुनको स्वागतमा कार्यक्रम गर्न लागेको हो। Avignon शहरमा फ्रेन्च आर्मी लेजिओं एथ्रंजेमा कार्यरत युवाहरु संग अन्तरक्रिया हुनेछ। पुनको कार्यतालिका अनुसार उनि १० मे मा जर्मनीको फ़्र्यान्कफटमा कार्यक्रम सकेर ११ मे मा फ्रान्सको नन्त, १२ मा लक्जम्बर्ग, १४ मा आभिन्यों र १५ मा पेरिसको कार्यक्रममा सहभागी हुने छन्।

पेरिसमा १५ मे का दिन हुने कार्यक्रममा डा. पुनले आविस्कार केन्द्रका कामहरु भिडियोमार्फत प्रस्तुत गर्दै, जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका कयौं अन्य क्षेत्रमा के-कस्ता नयाँ-नयाँ अनुसन्धानको काम गरिरहेको जानकारी दिनेछन् । कार्यक्रममा फ्रान्समा रहेका नेपालीहरुले देशमा आविष्कार र उद्यमशीलता तर्फ पहिलो पटक यसरी छलफल गर्ने अवसर पाउने छन्। सामाजिक अभियन्ता, विधार्थी, युवा, तथा नव-उद्यमीहरुमाँझ पुन लोकप्रिय छन्।

मुलुकका तीनवटै तहका सरकारले नयाँ नयाँ आविष्कार कार्यका लागि आफ्नो पुँजीगत बजेटको कम्तीमा १ प्रतिशत हिस्सा छुट्याउनुपर्छ भन्दै उहाँले नेपालभर आविस्कार केन्द्रका शाखा बनाउने लक्ष्य लिएका छन। आविष्कारले रोजगारी र उद्यमशीलता सिर्जना गर्छ भन्दै उनले सरकारको ध्यानाकर्षण गराउदै आएका छन।

एसियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन म्यागसेसे पुरस्कार’ जस्ता विभिन्न सम्मानद्वारा सम्मानित पुन अप्रिल २६ देखि युरोप भ्रमण गरी मे २५ मा फेरि बेलायत फर्किने पुनको कार्यतालिका रहेको छ। उनि जुनको पहिलो साता नेपाल फ़र्किनेछन। युरोप भ्रमणका क्रममा विभिन्न विश्वविद्यालय, कम्पनी तथा विशेषज्ञहरूसँग भेटघाट गर्ने र अनुसन्धान एवम् विकासमा सहयोग सम्बन्धी सहकार्य गर्नुका साथै परियोजनाका लागि कोष जुटाउने डा पुनको उद्देश्य रहेको छ ।

को हुन् ख्यातिप्राप्त व्यक्तित्व महावीर पुन ? 

महावीर पुनको जन्म २२ जनवरी, १९५५ नाङ्गी गाउँ, म्याग्दीमा भएको हो। हजुरबुबासँग भेडाबाख्रा चराउँदै, वन पाखामा डुल्दै बाल्यकाल बिताउने क्रममा उहाँले कालोपाटीमा खरिढुंगाले लेखेर ६ कक्षा पास गरेका थिए । सात कक्षामा पढ्न थालेपछि मात्रै सिसाकलमले कागजमा लेख्ने मौका मिलेको थियो। बुबा संग डोको बोकेर दिन हिँडेर चितवनतिर आएपछि आठ कक्षामा भर्ना हुँदा उनले पहिलोपटक पाठ्यपुस्तक देखेका थिए । किताब पाए पढिहाल्ने, मेहनत गर्ने बानीले गर्दा कक्षा ८ देखि १० सम्म कक्षामा प्रथम भए महावीर। उनलाई रेडियोमा विज्ञान र प्रविधिका खबर सुन्दा महावीरमा तरंग र उर्जा पैदा हुन्थ्यो।​ चितवनबाटै १२ कक्षा उत्तीर्ण गरेपछि महावीर काठमाडौँ आएर अमृत साइन्स कलेजमा भर्ना भए । त्यसपछि उनी १२ वर्ष चितवनमै शिक्षक भएर पढाएर बसे।

अवसर पर्खिरहेका महावीरले सन् १९८९ तिर छात्रवृत्ति पाए। उच्च शिक्षाका लागि अमेरिका जाने अवसर जुर्यो। जतिबेला उनी ३३ वर्षका थिए। अमेरिका जाने तयारी गरिरहँदा महावीरका बुबा बिते। उनी अमिलो मन लिएर अमेरिका गए। निकै मेहनत गरेर पढेका महावीर अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट स्नातक गरेर सन् १९९२ तिर नेपाल फर्किए।

स्नातकोत्तर सकाएर २४ वर्ष पछि आफ्नो गाउँ नाङ्गी फर्किदा उनले दिगो शिक्षाको आवश्यकता महसुस गरेका थिए। गाउँमा वायरलेस इन्टरनेटको सहज पहुँच पुर्याएपछि महावीरको चर्चा चुलियो।

सन २००१ मा ब्रिटिस ब्रोडकास्ट कर्पोरेसन बीबीसीले उनको गाउँगाउँमा इन्टरनेटको पहुँच पुर्‍याउने महत्त्वाकाङ्क्षी योजनालाई विश्वसमुदाय माझ पेस गरिदिएको थियो। उनले अन्य थुप्रै गाउँहरूमा ताररहित इन्टरनेट सञ्चालन गर्न सफल भएका थिए।

पुनले सन् २०१२ मा सूचना तथा प्रविधि मार्फत देश विकासका सम्भावनाहरूको खोज र आविष्कार गर्ने  उद्देश्यले मुनाफारहित संस्था राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेका थिए। कोभिडको महामारी हुँदा अक्सिजन मेसिन, पीपीइ देखि विभिन्न उपकरण बनाउदै स्वास्थ्य, शिक्षा र औधोगिक क्षेत्रमा महावीर पुन, राष्ट्रिय आविष्कार केन्द्र र यस सँस्थामा आबद्वहरु को ठुलो योगदान रहेको छ।

पुन ‘इन्टरनेट हल अफ फेम’, ’समग्र सामाजिक नवीनता पुरस्कार’, जोनाथन बी पोष्टल अवार्ड, एसियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन म्यागसेसे पुरस्कार’ जस्ता विभिन्न सम्मानद्वारा सम्मानित भइसकेका छन्। (महावीर पुनको जीवनी नेपालखबर बाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here