पेरिसमा १७ औं नेपाल महोत्सव हुँदै

फ्रान्सको राजधानी पेरिसमा हरेक बर्षको जुन महिनामा नेपाल महोत्सव एवं मेला हुदै आइरहेको छ । यस बर्षको १७ औं नेपाली महोत्सव आगामी जुनको ४ र ५ (शनिवार र आइतवार) का दिन हुन गइरहेको छ । सन् २००२ मा स्थापना भएको नेपाली सांस्कृतिक गृह (Maison Culturelle du Nepal) ले हरेक बर्ष यो मेलाको आयोजना गर्दै आइरहेको छ । गत २ वर्ष देखि  कोभिडको कारण रोकिएको मेला यसपटक भव्यताका साथ सम्पन्न हुने भएको छ।

नेपाल महोत्सव पेरिस महानगरको १२ औ वडामा अवस्थीत रमणिय (Bois de Vincennes) भाँसेन पार्क भित्र आयोजना हुनेछ । यो विशाल पार्क भित्र चिडियाखाना, विभिन्न ताल तलैयाहरु, फूलहरु, बोट बृक्षहरु, चराचुरुंगीहरु, मनोरन्जनका विभिन्न साधनहरु को साथै बुद्धको गुम्बा पनि रहेको छ । फ्रान्समा बौद्ध धर्म मान्नेहरुका लागि यो गुम्बा महत्वपूर्ण तिर्थ स्थल पनि हो ।

मेलामा नेपाली राजदूतावास लगायत फ्रान्सका नेपाली मैत्रीसंघहरु र व्यवसायीहरु ले आ-आफ्नो स्टल राखेर आगन्तुकलाई आ-आफ्नो संघ संस्थाको जानकारीमुलक वा व्यवसायीमुलक कृयाकलापहरु गर्ने गर्दछन। नेपाली ध्वजा पतका र झन्डाले सिंगारिएको मेला स्थलमा नेपाली विविध संगीतका स्वर र धूनले जो कोही पदयात्रीलाई पनि प्रवेश गर्न आकर्षक पार्दछ ।

मेला आयोजनाको प्रमुख उद्देश्यहरुमा बुद्धको जन्मभूमि र सगरमाथाको देश नेपाललाई चिनाउनु, विभिन्न कलाकौशल र सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेर नेपालको बिबिध कला र संस्कृतिको पहिचान गराउनु, नेपालवाट झिकाएका हस्तकला, मूर्तिकला तथा पोशाकहरु बिक्रि गरेर नेपाली घरेलु उद्योगलाई सहयोग गर्नु, मेला स्थलमा नेपाली दाल भात सहित विभिन्न नेपाली परिकारहरु तयार गरेर बिक्रि गरि नेपालको खानाको स्वाद चखाउनु, नेपालको कला, संस्कृति, पर्यटन, पुरातत्व आदिका ज्ञाताहरुद्वारा बिबिध बिषयमा conference गराई नेपाल चिनाउनु र नेपालमा पर्यटन प्रबर्धन गर्न सहयोगी हुनु रहेकोछ । यी सबै उद्देश्यहरुको साथ यस्ता कार्यक्रमहरु गर्दै आर्थिक कोष खडा गरेर पेरिसमा आफ्नै नेपाली घर किन्ने वा निर्माण गर्ने संघको प्रमुख उदेश्य रहेको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here