शुक्रवार साहित्य : रेनुका भट्टको “सपनाको देश”

रेनुका भट्ट, डेनमार्क

तिमीजस्तै म पनि 
पछ्याउँदै मीठा सपना 
टाढा, धेरै टाढा 
आएको छु यो अपरिचित सपनाको देशमा । 

यो जहाज यतिबेला 
मजस्तै सपनाको भारी बोकेका 
थुप्रै मानिसहरूको गह्रुँगो भार बोकेर 
बेपत्ता उँडिरहेछ बादल र बतास चिर्दै 
सपनाका देशहरूमा पुगेर 
थप सपनाहरू चढ्दै–ओर्लँदै जानेछन् 
गन्तव्यको स्वप्न सहरमा पुगेर पनि म 
आफ्नै सपनाका ऊर्जाले सक्रिय हुनेछु 
र जोगाइ राख्नेछु यी प्रिय सपनालाई । 

चीर परिचित सबथोक टाढा हुँदै गए 
आफ्नै जन्मस्थानको बतासले छुन छोड्यो 
आमा भन्दै भक्कानिएँ 
तर आवाज बिलायो हावामै 
मेरा सबथोक छुटे 
म निरीह भइरहेँ 
यत्तिखेर म मलाई नै उचाल्ने सपना 
र, आफ्नाहरूको यादमा दुख्ने मुटु बोक्ने 
आफैं जिउँदो जहाज बनेको छु 

जहाजबाट तल 
छल्किरहेको देख्छु 
अरबौं मान्छेका आँसुले बनेको 
नीलो पीडाको विशाल समुद्र । 
बादलमा लुकामारी खेल्ने 
मेरा गाउँहरूको केही पत्तो छैन 
मैले विदाईको हात हल्लाएपछि 
मेरो दिमागभरि मडारिएको कालो बादल 
झ¥यो पानी भएर आँखाका डीलबाट 
यो घडी म 
बिरानो ठाउँमा यादहरूको पहाडमा छु 
सम्झनाका सिरेटाले 
चसचसी घोचिरहेछन् मेरो कमजोर मुटु 
निस्सासिँदै गइरहेछ 
नजिकै सुनिने एकहोरो कर्कस धून 
आमा सम्झिएर 
हरेक स्वासमा हुन्छ केवल ऐंठन 
सास मिस्सिन्छ त्यही चिसो सिरेटोमा 
अनि बिलाउँछ मलाई पनि छोडेर 
हराउँछ शूून्यमा । 

यो सपनाको देशमा 
के सपना लिएर म आइपुगेँ खै? 
बरु हराएका आफ्नै सपना खोजिरहेछु 
जसले पुरिदिनेछ हाम्रा आदीम घाउहरू 
ढाकिदिनेछन नांगो आंग 
र, मुस्कुराउँनेछन् कलिला ओँठहरू 

सपनै सपनाको पहाड बोकेर 
सपनाको देशमा सपना खोज्दाखोज्दै 
म आफै सपना भएँ भने 
कसले देख्ला मेरा यी सपनाका श्रृंखला ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here