फ्रान्स र पोर्चुगलबाट नेपाल फर्कन चाहने नेपालीहरुले आफ्नो विवरण आउँदो आइतबार अर्थात ७ जुनसम्म उपलब्ध गराउन फ्रान्समा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।
नेपाल सरकार (मन्त्रिपरिषद्) को यही जेठ १२ गतेको निर्णयबमोजिम ‘कोभिड–१९ विश्वव्यापी सङक्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७’ जारी भएको सन्दर्भमा नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपालीका लागि यस्तो व्यवस्था गरिएको राजदूतावासद्वारा सोमबार जारी सूचनामा जनाइएको छ।
नेपाल फर्कन चाहनेले आफ्नो नाम, राहदानी नम्बर, स्थायी ठेगाना, नेपाल फर्केपछि बस्ने ठेगाना, नेपालको सम्पर्क नम्बर, नेपाल फर्कनुपर्ने कारण, हाल आफू रहेको ठेगाना, सम्पर्क नम्बर र इमेल साथै आफ्नै खर्चमा तोकिएको होटल क्वारेन्टिन वा स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टिन कुनमा बस्ने हो सोसमेत खुलाई राजदूतावासको इमेल मार्फत पाँच दिनभित्र आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ । प्राथमिकताका आधारमा नेपाल फर्कने व्यवस्था गर्न लागिएको राजदूतावासले जानकारी गराएको छ।
नेपाल फर्किदा कोभिड-१९ संक्रमण नभएको पी. सी आर / आर. डी. टि. को परिक्षण साथमा राख्नु पर्दछ। विदेशबाट फर्कनेले हवाई उडान खर्च आफैंले व्यहोर्नु पर्नेछ। विमानस्थलबाट होल्डिङ सेन्टर हुँदै होटल क्वारेन्टिन वा स्थानीय निकायले व्यवस्थापन गरेको सम्बन्धित क्वारेन्टिनसम्मको खर्च व्यक्ति स्वयंमले तिर्नु पर्छ।
नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले अनिवार्यरूपमा स्थानीय क्वारेन्टिन वा होटल क्वारेन्टिनमा १४ दिनसम्म बस्नुपर्ने र तत्पश्चात् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेबमोजिम स्वास्थ्य परीक्षण भएपछि थप सात दिन अनिवार्य होम क्वारेन्टिनमा समेत बस्नु पर्नेछ ।