फ्रान्स/ तमु समाज फ्रान्सले यहि २६ डिसेम्बरका दिन पेरिसमा ल्होसार बिशेष कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ। हरेक बर्ष फ्रान्सबासी नेपालीहरु माँझ ल्होसार मनाउदै आएको सँस्थाले यसबर्ष पनि साँस्कृतिक कार्यक्रमका बीच सम्पन्न गरेको हो।
आइतबार पेरिस नजिकै ध्रंसी शहरमा सम्पन्न कार्यक्रममा कलाकारहरुले नेपाली मौलिकता झल्काउने गीत संगीतहरु प्रस्तुत गरेका थिए। फ्रान्स स्थित संघ संस्थाका प्रतिनिधिहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । तमु समाजका अध्यक्ष चित्र गुरुङ र अतिथिहरुले पानसमा दिप प्रज्वलन गरि शुरु भएको कार्यक्रम नेपाली राष्ट्रिय गितको धुन संगै अगाडी बढेको थियो । नेपाली राजदुतावास पेरिसले पत्र मार्फत कार्यक्रम सफलताको र ल्होसारको शुभमाकाना सन्देश पठाएको थियो।
कार्यक्रममा मन्तव्य दिँदै विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले विदेशमा रहेर पनि नेपालको भेष भुषा, संस्कृती चिनाउन गुरुङ समुदायले गरेको प्रयासको प्रसंसा गर्दै ल्होसारको शुभकामना दिएका थिए।
समाजका अध्यक्ष चित्र गुरुङले कार्यक्रम सफल बनेको भन्दै नेपाली समुदाय प्रति आभार प्रकट गर्नु भएको छ। कार्यक्रममा तमु समुदायका साथै फ्रान्सबासी नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो। यस बर्ष तमुहरुले ल्वों ल्हो (गाई वर्ग) लाई बिदाई गर्दै तो ल्हो (बाघ वर्ग)को स्वागत गरेर एकापसमा शुभकामना आदानप्रदान गरेर पर्व मनाएका हुन।
कार्यक्रमकै क्रममा परापूर्व कालदेखि समाजमा रहेको भुत प्रेतलाइ धपाउनका लागी गुरुङ समुदायहरुले मनाउदै आएको टोह्टे पर्वका केहि झलक प्रस्तुति गरिएको थियो। यसैका साथ कार्यक्रम समापन पछि गुरुङहरुको मौलिक सस्कार सस्कृति झल्काउने विभिन्न सास्कृतिक कार्यक्रमहरुले मनोरंजन दिलाएको थियो भने कार्यक्रम भरिनै खानपिनको राम्रो बेबस्था गरिएको थियो , अतिथि /पाहुनाहरुलाई रेखदेखमा विशेष ध्यान दिइएको थियो । कार्यक्रममा सामाजिक तथा संस्कृतिक क्षेत्रमा योगदान गर्नेहरुलाइ सम्मान गरिएको थियो।
महासचिव कृष्ण गुरूङ द्वारा संचालित औपचारिक कार्यक्रमको अन्त्यमा चर्चित नेपाली लोक गित धमाकाले सबै झुम्न बाध्य बनाएको थियो । तमु समाज फ्रान्सले विदेशमा भए पनि आफ्नो छुट्टै मौलिक तरिकाले प्रत्येक बर्षको ल्होसार भब्य रुपले मनाउदै आईरहेको छ । तमु कला संस्कृति सभ्यता भाषा पहिचान र नेपाली समाजमा तमु समुदायको विशिस्ट भूमिकाको स्मरण गराउदै यस बर्षको कार्यक्रम भव्य रहेको थियो।