महाकवी देवकोटाको जन्म जयन्तिको अवसरमा पेरिसमा एक साहित्यिक कार्यक्रम सम्पन्न

नेपाली साहित्यिक मन्च फ्रान्सको आयोजनामा यहिँ सोमवार १ नोभेम्बर २०२१ का दिन पेरिसमा महाकवी स्वर्गीय लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्तिको अवसरमा एक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ।

साहित्यिक मंच फ्रान्सका संयोजक हरिहर अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि फ्रान्सका लागि नेपाली राजदुत दीपक अधिकारी हुनु हुन्थ्यो। त्यस्तै एनआरएनए फ्रान्सकी अध्यक्ष गीता खनाल थापा, आइसीसी सदस्य अमर बहादुर भण्डारी, इनास फ्रान्सका अध्यक्ष प्रविन सापकोटा, जनसम्पर्क समिति फ्रान्सका अध्यक्ष सुधिर राना तथा अन्य विभिन्न संघ सँस्थाहरुमा आबद्व र साहित्यप्रेमी नेपालीहरुको उपस्तिथीमा कार्यक्रम सम्पन्न भएको थियो।

नेपाली रास्ट्रियगान बाट सुरु गरिएको जन्मजयन्ती कार्यक्रममा महाकवी देवकोटाले नेपाली भाषा, साहित्य, कला र संस्कृतिमा पुर्याएको योगदानको स्मरण गर्दै उनको तस्विरमा पुष्प अर्पण गर्दै सम्मान तथा श्रद्धाञ्जली व्यक्त गरिएको थियो। एनआरएनए फ्रान्सकी अध्यक्ष गीता खनाल थापाले महाकवी देवकोटाकै जीवनीको बारेमा पहिलो कविता वाचन गर्नु भएको थियो। वालवालिकाको तर्फ बाट निखिल अर्याल नेपाली भादगाउले टोपीमा सजिएर आफ्नो कविता वाचन गरेका थिए। कार्यक्रम अगाडी बढाउने क्रममा स्रष्टा नितेश पौडेलले आफ्नो दाजुको स्मृतिमा लेखेको गित गाएर सुनाउनु भएको थियो।

फ्रान्सका नेपालीहरुमा चिरपरिचित श्रस्टा निश्चल रिमालले आफ्ना मिठा कविता तथा गजलहरुमार्फत सवैलाइ मन्त्रमुग्द पार्न सफल हुनु भएको थियो।

मुटुमा कुदेर लेखीएको जोस्को नाम छ।

मलाइ फसाउन गरेको उसले इन्तजाम छ।

साथी बनेर प्रहार गर्नेहरु प्रति आजित भै सके म

मन खुलेरै दुस्मनी गर्ने दुस्मनलाइ सलाम छ। – निश्चल रिमाल, पेरिस  फ्रान्स

गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार क्रिस्टिना अधिकारीले माधव प्रसाद घिमिरे द्वारा लिखित “नेपाली हामी रहुँला कहाँ नेपालै नरहे” बोलको गित गएर देश प्रतिको माया प्रस्तुत गरेकी थिइन्।

सुमित्रा बुर्लाकोटीले रेमी बोर्देस द्वारा नेपाली बाट फ्रान्सेली भाषामा रुपान्तरण गरिएको लक्ष्मी प्रसाद देवकोटाको पुस्तक बाट “जिन्दगीको मौसम” नामक कविता सुनाउनु भएको थियो। नेपाली मूलकी रिता गेरंले फ्रेन्चमा अनुवादित सोही कवितालाइ पढेर सुनाउनु भएको थियो। फ्रान्सका चर्चित कलाकार/चित्रकार शैलेन्द्र महर्जनले “तिमि फेसबुक अनि म” शिर्षकमा पठाउनु भएको रमाइलो कवितालाइ मंचका संयोजक हरिहर अर्यालले पढेर सुनाउनु भएको थियो।

नजिकै भएछौ तिमि चिन्दै नाचिने पनि

बोल्दैनौ अनि भुल्दैनौ तिमि २४ सै घण्टा चलाए पनि

सम्बन्ध पनि गास्छौ तिमि भेट्नै नमिल्ने गरि

तस्विरहरुको साथ छौ तिमि त्यसमा रंगी बिरंगी पनि – शैलेन्द्र महर्जन पेरिस

बालबालिकाको तर्फ बाट नन्दिता अर्यालले प्रख्यात फ्रेन्च कवि भिक्टर हुगोको कविता “Chanson d’automne” (शरद ऋतुको गित) वाचन गरेकी थिइन्। त्यस्तै समाजसेवी ओम गौचनले जापान गएका आफन्तबाट चिठी पाउने आशामा रहेको नेपाली मनको व्यथालाइ कविताको भावमा उतारेर प्रस्तुत गर्नु भएको थियो।

… न चिठी न खबर,

उत्सुकता सूर्यमुखी र सयपत्री संगै ओइली सुकी  झरी जान्छ।

अतार लाग्ने लामा लामा पलहरु दिन र रातका सिमानामा बाढीएर जान्छ …

फ्रान्सका एक बौद्विक व्यक्तित्व राम पाण्डेले महाकवी देवकोटाको जीवनी, लेखाईमा उहाँको दक्षता, दर्शन आदिको बारेमा बताउनु भएको थियो त्यस्तै कबिन्द्र कायस्तले “जिउदो सहिदहरुको बेदना” शिर्षकमा, क्यूटी मारियाले “मान्छेको मान्छे” शिर्षकमा आफ्ना कविताहरु वाचन गर्नु भएको थियो। एनआरएनए फ्रान्सका पुर्व अध्यक्ष निर्मल अर्यालले सँस्थाले गरेका कामहरु त्यस्तै महाकवी देवकोटाका बारेमा धारणा राख्दै नेपाली पर्वहरुको शुभकामना दिनु भएको थियो।

वालवालिकाहरु प्रणम न्युपाने, आर्नाभ पौडेल, प्रिन्सा न्युपाने, सुनिस्का पौडेलले गित कविता सुनाएका थिए त्यस्तै अस्मिता अधिकारी र नन्दिता अर्यालले न्रित्य प्रस्तुत गरेका थिए।

फ्रान्सका लागि नेपाली राजदुत दिपक अधिकारीले महाकवी देवकोटाको बारेमा बोल्दै उहाँले त्यतिबेला लेखेका कुरा आजपनि कति सान्दर्भिक छन, देवकोटाले साहित्यका हरेक विधामा कलम चलाउन सक्ने भन्दै नेपाली साहित्यमा महाकवी देवकोटाले पुर्याउनु भएको योगदानको बारेमा प्रकाश पार्नु भएको थियो। त्यस्तै “नेपाली साहित्यिक मंचले देवकोटाको सम्मानमा यस प्रकारको कार्यक्रम गरेकोमा अन्तरात्माबाटै धन्यवाद” व्यक्त गर्दै वालवालिकाहरुलाइ कविता गित सुनाउन प्रेरित गर्ने अभिभावकहरुलाइ पनि धन्यवाद व्यक्त गर्नु भएको थियो।

सँस्थाका सदस्य हरि सापकोटा द्वारा संचालित कार्यक्रमको अन्त्यमा सँस्थाकी सदस्य तथा पत्रकार अनुराधा पौडेलले प्रस्तुत गरिएका कविताहरुको समिक्षा गर्दै कुल २३ ओटा रचनाहरुले कार्यक्रमा स्थान पाएको जानकारी दिनु भयो । नेपाली साहित्यिक मन्च फ्रान्सका संयोजक हरिहर अर्यालले कार्यक्रममा रचना वाचनगर्ने सम्पूर्णलाइ धन्यवाद व्यक्त गर्दै विदेश जाने नेपालीहरुको बारेमा लेखिएको (छन्द) कविता वाचन गरेर सुनाउनु भएको थियो। अर्यालले महाकवी देवकोटाको रचनात्मक खुबीको बारेमा चर्चा गर्दै आज उहाँको सम्मानमा यस प्रकारको कार्यक्रम गर्न पाएकोमा खुसि व्यक्त गर्दै सहित्यिक मंचका सदस्यहरुलाइ, कार्यक्रम संचालन गर्न सहयोग गर्नेहरु, हलको लागि सहयोग गर्ने काम्रन रेस्टुरेन्ट तथा सबै सहयोगीलाइ धन्यावाद ज्ञापन गर्नुभएको थियो। वालवालिकाहरुलाइ हौसला स्वरुप पुरस्कार वितरण गर्दै कार्यक्रमको समापन गरिएको थियो।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here