![keshav-raj-jha](https://parisnepal.com/wp-content/uploads/2018/09/keshav-raj-jha-696x418.jpg)
फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशवराज झाको हत्या अनुसन्धानका क्रममा पक्राउ परेका तीन कामदार धरौटीमा रिहा भएका छन् । घटनामा संलग्नता आशंकामा महानगरीय प्रहरी अपराध महाशाखाले गार्ड अमर तामाङ, माली सानुकान्छा तामाङ र खाना पकाउने जयबहादुर गुरुङलाई पक्राउ गरेको थियो । उनीहरू काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको रोहवरमा जनही ८ हजार धरौटी बुझाएर छुटेका छन ।
स्रोतका अनुसार झ्यालको जाली काटेर झा सुत्ने बेडसम्म को पुग्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। झन्डै एक महिना बित्न लाग्दा पनि ८० वर्षीय झाको हत्यारा र हत्याको कारणसम्म टुंगो लगेको छैन।
नेपालको राजदूतका रुपमा पेरिस जानुभन्दा अघि झा परराष्ट्र मन्त्रालयको शिष्टाचार महापाल (चिफ अफ प्रोटोकल) थिए । उनी २४ मार्च १९९३ देखि ३१ डिसेम्बर १९९७ सम्म फ्रान्सस्थित नेपाली राजदूत थिए । उनि ३० वर्षसम्म मुलुकको परराष्ट्र सेवामा कार्यरत थिए । युरोपेली मुलुकहरुमा राष्ट्र प्रमुखको भ्रमण गराउन निकै कठिन रहेका बेला झा फ्रान्समा राजदूत रहँदा तत्कालीन राजा वीरेन्द्रले फ्रान्सको राजकीय भ्रमण गरे, सन् १९९४ मा ।
सन् १९९५ मा तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री माधवकुमार नेपालले र सोही वर्ष प्रधानमन्त्री मनमोहन अधिकारीले पनि डेनमार्कबाट फर्कने क्रममा फ्रान्सको औपचारिक भ्रमण गरेका थिए ।
उनले अघि बढाएको द्विपक्षीय सम्बन्धकै निरन्तरतास्वरुप सन् २००१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि फ्रान्सको भ्रमण गरेका थिए ।
परराष्ट्र मन्त्रालयमा रहँदा यूरोप र अमेरिका डेस्क हेरेका झ अमेरिका तथा युरोपेली मुलुकका कुटनीतिज्ञमाझ चर्चित थिए ।