सिराहाका सन्तोष साह बीबीसी मास्टरसेफको शीर्ष तीनमा पुग्न सफल

लन्डन (जीएनएन) : नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टरसेफ प्रोफेसनल्स २०२०’ प्रतियोगिताको शीर्ष तीनमा पुग्न सफल भएका छन् ।

‘बीबीसी वान’ मा बुधबार राति प्रसारित फाइनल राउण्डको दोस्रो चरणमा उनी अन्तिम चरणका लागि छानिएका हुन् । साहले उत्कृष्ट तीनमा पुग्नका लागि भुटेको चिउरा, भुटेको खुर्सानी र नुन, गोल्डेन पुरी, गँगटाको तरकारी, साँधेको भटमास, रायोको साग, जिम्बुले झानेको पोलेको खसीको मासु, पुदिना पराठा र क्रिस्पी प्याज बनाएका थिए । उनको पाककलाको निर्णायकहरुले खुलेर प्रशंसा गरेका थिए ।

नेपालको सिराहाका साहले फाइनलमा पनि नेपाली खानाकै परिकार बनाउने तयारी गरेको जानकारी दिएका छन् । आफुलाई मन पर्ने व्यक्तित्वलाई सम्झेर खाना बनाउने राउन्डमा उनले आफु १२ वर्षको हुँदा सिराहाको एउटा नहरमा श्रमिकको रुपमा काम गर्दा आफ्नी आमाले दिउंसो लिएर आउने खाना सम्झेर खाना बनाएको बताए। “आमा र म संगै बसेर दिउंसोको खाना खान्थ्यौं,” आँखाभरि आँशु ल्याउँदै सन्तोषले भने। उनले भादगाउँले कालो टोपी लगाएर खाना पकाएका थिए।

१५ वर्षको उमेरमा भारतको गुजरातमा काम गर्न गएका सन्तोषले त्यहाँ विभिन्न होटेलहरुमा १० वर्ष काम गरेका थिए। त्यस पछि सन् २०१० को अन्त्यमा बेलायत आएका उनी अहिले सिनामोन ग्रुपमा हेड सेफको रुपमा काम गर्दै छन्। प्रतियोगिताको फाइनल बिहीबार हुँदैछ । अन्तिममा पुगेका तीनमध्ये एकजना सेफ मास्टर सेफ च्याम्पियन हुनेछन् । प्रतियोगिता ३२ जना सेफहरुबीच शुरु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here