एनआरएनएद्धारा भरतपुर महानरगपालिकालाइ “रक्त संकलन घुम्ती बस” हस्तान्तरण

गैरआवासीय नेपाली संघले शुक्रबार (पौष ३) गते भरतपुर महानरगपालिकालाइ ‘एनआरएनए घुम्ती रगत बस’ हस्तान्तरण गरेको छ ।
हस्तान्तरण कार्यक्रममा भरतपुर महानरगपालिकाकी प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती साही ठकुरी, संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, उपाध्यक्ष डा बद्रि के सी, सचिव राजेन्द्र शर्मा, सहकोषाध्यक्ष लोक प्रसाद दाहाल, नेपाल रेडक्रस सोसाइटी चितवनका संबंद्ध पदाधिकारी, प्रतिनिधि लगायत विभिन्न देशका गैरआवासीय नेपालीहरु, महानरगपालिका पधाधिकारी, पत्रकार, कर्मचारी, स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो।
नेपाल रेडक्रस सोसाइटी चितवनसँग सहकार्य गरि प्रतिकुल समयमा पनि रगत संकलन गर्नका लागि यो परियोजना सुरु गरिएको संघका सचिव तथा संयोजक गौरी राज जोशीले बताउनु भएको छ। यसले विषम परिस्थितिमा पनि रगतको अभाव हुन नदिई संकलन तथा भण्डारण तथा व्यवस्थापनलाई गुणस्तरीय र सर्व सुलभ बनाउन मदत गर्ने विश्वास लिइएको छ ।
यस परियोजनाको लागि स्वास्थ्य सामाग्री सहितको सुविधा सम्पन्न बस व्यवस्थापनको सम्झौता भएको थियो । यस परियोजनाको लागि करिब ७६ लाख नेपाली रुपैयाँ संकलन भएकोमा करिब ६१ लाख खर्च हुने भएको छ ।
नेपाल रेडक्रस सोसाईटी चितवन जिल्ला शाखा अन्तर्गत क्षेत्रीय रक्तसंचार सेवा चितवनले स्थापनाकाल देखि नै बिरामीहरुलाई सेवा पुर्‍याउँदै आएको र विरामीहरुलाई रगत व्यवस्थापनमा अहम् भूमिका निर्वाह गरेकोले पनि एनआरएनले सहकार्य अघि बढाएको हो । विशेषगरी थालासेमिया, हेमोफिलिया, मिर्गौला रोगी, मुटुसम्बन्धि रोगी र अन्य अत्यावश्यक र आकस्मिक रुपमा रगत चाहिनेहरुका लागि यस परियोजनाले राहत प्रदान गर्ने विश्वास लिइएको छ ।
“नेपालीका लागि नेपाली” भन्ने भावनालाई आत्मसात गर्दै गैरआवासीय नेपाली संघले रक्तसञ्चार पद्धति कार्यदल स्थापना गरेको थियो । यस कार्यदलले नेपालमा रगत सेवालाई गुणस्तरीय र सर्व सुलभ बनाउनको लागि रक्तसञ्चार क्षेत्रमा विभिन्न कार्यक्रम तथा परियोजनाहरु सञ्चालन गर्दै आएको छ ।
यस परियोजनामा करिब ४०० जना भन्दा बढी गैरआवासीय नेपालीहरुले सहयोग गरेका छन् । नेपाल बाहिर रहेर पनि आफ्नो देशप्रतिको जिम्मेवारी पुरा गर्न धेरै गैर आवासीय नेपालीहरुले नेपालमा आर्थिक श्रोत तथा प्राविधिक ज्ञान र सिपको लगानी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here