राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी एक अध्यादेश जारी गरेकी छिन्। संविधानको धारा, ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले जानकारी दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् बैठक आह्वान गर्दा बैठकका एजेन्डा सभामुखलाइ नदिने गरेको र नेकपा भित्र कुनै छलफल विनानै संवैधानिक परिषद् बैठक डाकेको हुनाले सभामुख अग्नि सापकोटा बैठकमा अनुपस्थित रहेको बताइएको छ। संवैधानिक परिषद् बैठकमा गणपुरक संख्या पुग्नका लागि ५ जना उपस्थित हुनुपर्ने हुन्छ। उप-सभामुखको पद रिक्त अवस्थामा सभामुख विनानै बैठक गर्न सकिने बनाउन प्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएर अध्यादेश पास गर्ने बाटो खोलेका थिए।
प्रधानमन्त्रीको अध्यक्षतामै रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख रहने गर्दछन। सभामुख र उपसभामुख फरक फरक पार्टीको हुनु पर्ने ब्यबस्था छ। संवैधानिक परिषदको बैठक अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत महत्वपूर्ण सरकारी कार्यालयका पदमा नियुक्ति गर्न बोलाउन लागिएको हो।
प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतक देवप्रसाद गुरुङलाई राजीनामा गर्न दबाब दिएका छन्। प्रधानमन्त्री ओलीको चेतावनीपूर्ण दबाबपछि प्रमुख सचेतक गुरुङले पार्टीले निर्णय नगरी किन राजीनामा दिने भनेर उल्टै ओलीलाई प्रश्न गरेका छन्। यसै विषयमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले ‘पार्टीभित्र बहस र छलफल गरी समस्याको निकास निकाल्नु पर्ने बेलामा अनुचित निर्णय नगर्न’ सुझाव दिएका छन्।
बिहान डाकिएको बैठकमा अध्यादेश नल्याउन देउवाले कडा रुपमा चेतावनी दिएका थिए
‘बिहानको बैठकमा अध्यादेश ल्याएमा सहमति हुँदैन भन्दाभन्दै दिउँसो एकाएक जारी भएको छ। अबका बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतले सभापतिज्यू सहभागी हुनुहुन्न,’ काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने।
नेकपाभित्रको किचलोका बीच प्रधानमन्त्री ओलीका कारण मुलुकको राजनीति पुन: अस्थिरतातिर धकेलिएको छ। साथै देउवा अनुपस्थित हुने विषयले संवैधानिक परिषदको बैठक कसरी अगाडि बढ्छ सबैको चासोको विषय बनेको छ। ओलीले आजै बेलुकी ५ बजेलाई बैठक बोलाएका छन्।