“भारतले ‘नक्कली अयोध्या’ खडा गर्यो” भन्ने प्रधानमन्त्री ओलीको भनाइले भारतमा हंगामा

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् ।

भानु जयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भानुभक्त आचार्य र रामायणको बारेमा बोल्दै नेपाल सांस्कृतिक हिसाबले पनि थिचिएको उल्लेख गर्दै तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताएका हुन् । भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भएपनि भारतले विवादीत अयोध्या खडा गरेको उनको दाबी छ । उनको अभिव्यक्ति पछि सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना भएको छ।

“हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौं। तथ्यहरूमा अतिक्रमण भएको छ। हामी अहिले पनि ठानिरहेका छौं हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौं। भारतका होइन, अयोध्याकालाई दिएका हौं हामीले। अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिमपट्टिको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन,” उनले भने “हाम्रोमा विवाद नै गर्नुपर्दैन। अयोध्या वीरगञ्जको पश्चिमपट्टि ठोरीमा, बाल्मीकि आश्रम यही (नेपालमा), र दशरथबाट सन्तान नभएपछि पुत्रेष्टि यज्ञ लगाउने पण्डितजी रिडीका। त्यसकारण सन्तान (राम) पनि भारतीय होइनन्, ठाउँ (अयोध्या) पनि भारतीयको होइन।”

प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सहि भए त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्न समेत उठाएका छन् । त्यो समयमा कुनै सञ्चार सुविधा विना अहिले भारतले बनाएको अयोध्याबाट राम आउन सम्भव नभएको उनको तर्क छ ।

प्रधानमन्त्रीको यो भनाईलाइ लिएर भारतमा हंगामा मचिएको छ। प्राय सबै रास्ट्रिय दैनिक पत्रिकाहरुली यसलाइ चासोका साथ प्राथमिकतामा राखेका छन, सामाजिक सञ्जालमा समेत यो ट्रेन्ड़िङ्गको बिषय बनेको छ। भारतको समाचार संस्था पीटिआईको समाचारमा उक्त अभिव्यक्तिलाई ‘राजनीतिक विवाद उक्साउने’ भन्दै भारतलाई ‘चोट पुर्‍याउने आश्चर्यजनक कदम’ भनिएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here