बेलायत बाट दुई चार्टर विमान नेपाल जाँदै, युरोपका अन्य देशबाट पनि उडानको लागि तयारी गरिदै

नेपाली दूतावास लण्डनले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी बुधबार र शुक्रबार गरी दुइ उडान चार्टर गरी नेपाल जानको लागि फारम भरेका नेपालीहरुलाइ फर्काउने भएको छ। दुवै उडान दिउँसो २ बजेर ५० मिनेटमा लण्डनको ग्याटविक विमानस्थलबाट उड्ने छन्।

उडानको लागि जजिरा एअरलाइन्सका ए ३२० एअरबस प्रयोग गरिने छन। त्यस विमानमा एकपटकमा १ सय ५८ यात्रु बोक्ने क्षमता रहेको छ। बेलायत स्थित राजदुतावासले नेपाल सरकारको निर्देशनमा र एनआरएनए बेलायत संगको सहकार्यमा नेपाल फर्किन पर्ने नेपालीहरुको नामावली तयार गरेको थियो। ४२० जना नेपालीहरुले उक्त फारम भरेका थिए। नेपाल जानु अगाडी कोरोना नेगेटिभ रहेको पिसिआर रिपोर्ट बुझाउनु पर्नेछ र साढे ११ सय ५० डलर (९ सय २० पाउन्ड) बुझाएर टिकट जजिरा एरअरलाइन्सको नेपाल एजेन्ट एबल नेपाल ट्राभल एण्ड टुर्स प्राइभेट लिमिटेडमार्फत नै लिनुपर्ने रहेछ। नेपाल पुगेपछि १४ दिन अनिवार्य क्वारेन्टिन लगायतका स्वास्थ्य विभागका शर्तहरु पालना गर्नु पर्ने हुन्छ।

नेपाली राजदुतावास जर्मनीले पनि स्वदेश फर्किनु पर्ने नेपालीहरुको नामावली तयार गरेर नेपाल स्थित पररास्ट्र मन्त्रालयमा पठाएको छ। जर्मनी, पोल्याण्ड, रोमानिया र चेक गणतन्त्रमा रहेका ९३ जना नेपालीहरुको सुची तयारी गरेको छ र अन्तिम नामावली प्रकाशित गरी विमान सेवा प्रदायकहरु संग समन्वय गर्दै उडानको लागि तयारी गर्ने बताएको छ।

नेपाली राजदुतावास स्पेनले नेपाल फर्किनु पर्ने २३ जनाको नामावली तयार गरी पररास्ट्र मन्त्रालयमा पठाएको जानकारी दिएको छ। १२ जुनमा प्रकाशित सुचनामा उडान सम्बन्धि व्यवस्था मिलेपछि थप जानकारी दिने बताइएको छ।

नेपाल सरकारले सार्वजनिक गरेको विदेश बाट आउने चार्टर विमान तालिकामा भने साइप्रस बाहेक युरोपका अन्य कुनै उडान समावेश छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here