कालापानी नजिक सशस्त्र प्रहरीको बीओपी स्थापना

दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ ।

भारतले भूमि अतिक्रमण गरी सडक बनाएको कालापानी क्षेत्र नजिकै पर्ने दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरूमा सशस्त्र प्रहरी बस्ने भएको हो। सशस्त्र प्रहरीको सीमा सुरक्षा विभागका प्रमुख एआईजी नारायणबाबु थापाको उपस्थितिमा बीओपी स्थापना भएको हो । त्यस सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी हुनेछन।

सरकारले गत मंसिरमा नै बिओपी राख्ने निर्णय गरेको थियो। विवादित कालापानी क्षेत्रबाट १२ किलोमिटर वर स्थापित बीओपीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दले गर्दैछन् । अहिले संचालनमा ल्याइएको भवन भाडामा लिइएको हो। यही ठाउँमा नेपाल प्रहरीको चौकी पनि छ । तर उनीहरु बाह्रै महिना त्यहाँ बस्दैनथे। चाँडै सशस्त्र प्रहरीले अस्पताल सहितको भौतिक संरचना बनाउन थाल्ने पनि जनाइएको छ ।

नेपाली भूमि लिपुलेक हुँदै भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि अहिले सर्वत्र विरोध भइरहेको छ । अहिले स्थापना गरिएको बिओपी मार्फत त्यस क्षेत्रको सिमाना निगरानी गर्न र सूचना प्राप्त गर्न थोरै भएपनि सहज हुने विश्वास लिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here