भारतले सडक खनिरहेको बिषयमा मलाई कसैले रिपोर्टिङ गरेन : प्रधानमन्त्री

दिनेश पोख्रेल, काठमान्डौ | प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र कालापानी हुँदै भारतले चीन जोड्ने सडक बनाइरहेको बारे आफूलाई पूर्व जानकारी नभएको बताएका छन् । 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकमा बोल्दै प्रधानमन्त्रीले आफुलाई थाहा नभएको गुनासो गरेका हुन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने आइतबार प्रतिनिधिसभा बैठकमा भारतले नेपाली भूमि अतिक्रमण गरी सडक बनाइरहेका बारे सरकारलाई पहिल्यैदेखि जानकारी रहेको दाबी गरेका थिए । सरकारका एक मन्त्रीको भनाइ अनुसार बैठकमा ओलीले भारतले बलमिच्याइ गरेको भन्दै यसलाई कुटनीतिक तवरले नै हल गर्नुपर्नेमा जोड दिएका थिए। प्रधानमन्त्री ओली झण्डै आधा घण्टा यसबारे बोलेका थिए। उनले सुगौली सन्धिअनुसार काली नदी पूर्वको भूभाग नेपालको भएको बताए ।

प्रधानमन्त्रीले भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले केहि दिन अघि दिएको अभिव्यक्ति प्रति संकेत गर्दै सीमा विवादबारे जथाभावी नबोल्न निर्देशन दिएका छन् । 

पछिल्लो समय भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जोड्ने सडकको उद्घाटन गरेपछि नेपालमा त्यसको चर्को विरोध भइरहेको छ। एक नेपाली दैनिक पत्रिकामा गत फागुन महिनामै महाकालीवारि सडक निर्माण भैरहेको बारेमा समाचार छापिएको थियो। साथै त्यस क्षेत्रका स्थानीयवासी र स्थानीय जन प्रतिनिधिहरुले सडक निर्माणको बारेमा पहिल्लै जानकारी दिएको सञ्चार माध्यमहरुलाइ बताएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here