श्रमीकहरुको लस्कारले दुखाएको मन

अनुराधा पौडेल, १७ अप्रिल २०२० पेरिस

हामीहरु यतिबेला एतिहासिक क्षणबाट गुज्रीरहेका छौँ । कोरोना भाइरसका कारण सँसारभर कुनै न कुनै खालको बन्दाबन्दी छ र नेपालमा पनि ।

हामी बिदेशमा हुनेका दुइवटा देश छन् मातृभूती र अर्को कर्मभूमी । मातृभूमी बिकासको चरणमै छ । कर्मभूमीमा देखेका कुराले हामीलाई मातृभूमि पनि यस्तै बनाउन मन लाग्छ । जब मातृभूमी फर्केने कुरा सँझिन्छ अनि त्यहाँको लथालिँग चालले हामीलाई निरास तुल्याउछ । कर्मभूमिमा सरकार बलियो देख्छौँ हामी मातृभूमिमा कमजोर ।

यतिबेला हामीले मातृभूमिमा अनवरत यात्रामा हिँडेका श्रमीकहरुको लावलस्कर देखिरहेछौँ । धेरे थोरै कथाहरु हामी सबैलाई थाह छ । उनीहरु एक हप्ता, दुई हप्ता  गर्दै महिनौँ दिनको यात्रामा निस्केका छन् । काखमा छोराछोरी चेपेर र झोलाको प्लाष्टिक झुन्डाएर अनवरत यात्रामा हिडेका नागरिकहरु देख्दा हाम्रो मन कटक्क खाइरहेको छ ।

सामाजिक सञ्जाल बाट

हामीले यस्तो दर्दनाक यात्राको कथा कितावहरुमा पढेका थियौँ । सबैले सँझने कथा हो नेपालभाषी दार्जलिँगे श्रदेय कथाकार इन्द्रबहादुर राइको ‘जयामाया आफू मात्र लिखापानी आइपुगि’ ।

यो कथा दोस्रो बिश्वयुद्दमा बर्माबाट लखेटिएका नेपालीभाषी सँग सम्बन्धित थियो । बाबु आमा सँग यात्रामा निस्केकी जयामायाले बाटोमा बुबा गुमाएको र आमा गुमाएको मार्मिक कथा छ यसमा । त्यतिबेला सडक यात्राका लागि सबारीहरु सजिलै पाइँदैनथ्यो  हुनेहरुले गोरु गाडामा सामान लादेर निस्के । यसैगरी निस्केको थियो जयमायाको परिवार ।

आजपनि हामीले बर्मामा नेपालीभाषी समूदाय देख्छौँ ।

लडाइँकै शिलशिलामा नेपालिहरु अष्ट्रेलिया भन्दा पनि सर फीजि सम्म भारतियहरुसँग पुगेका रहेछन् । भर्खर भर्खर नेपालीहरुको समुदाय बारे पत्ता लाग्दैछ त्यहाँ ।

हामीले पन्चायतकालमा गीत सुनेका थियौँ, ‘बसाइ हिड्नेको ताँतिले बस्नेको मन रुवाउछ लाखौँको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ ।‘

यो २०१७ साल पछि तराइका बन फाँडेर बस्ती बसाल्ने राजा महेन्द्रको योजना सुनेर गाउँबाट तराइ झर्ने नेपालीहरुको लावालस्करमा आधारित थियो । यो लावा लस्कर ३० को दशक सम्म पनि उस्ते हुन्थ्यो ।

नेपालमा माओवादी द्वन्द चर्कियो यो बेला पनि फेरी आन्तरिक बसाइ सराइ तिब्र भयो । यो बसाइसराइ सहर केन्द्रित भयो फलस्वरुप अहिले नेपालका शहरहरु अति घना बन्दै गए ।

सहरले हामीलाई थप दुख गर्न सिकायो अहिले हामी लाखौँको सँख्यामा बिदेशमा मजदुरी गरेर बसेका छौँ । यि मध्ये केहिको अबस्था सन्तोषजनक छ तर अधिकाँसको अबस्था निम्नबाट माथि उठ्न सक्ने खालको छैन ।

यो बसाइँ सराइँको लावालस्करमा अर्को घुम्ति फेरी शुरु भएको छ कोरोना सँक्रमण युगको जुन भर्खर शुरु भएको छ । कति समयमा यो सँक्रमणको इतिहास सकिन्छ र कुन प्रकारले सकिन्छ थाह छैन । यति हो कि यो स्रक्रमणले फेरी बिश्वलाई ध्रुवीकृत बनाउने देखिन्छ ।

यो कोरना युगमा कति जयामाया जन्छन् थाह छैन तर नेपाली मिडियामा देखिएका  केहि कथाहरु यहाँ बाँड्न चाहन्छु ।

१७ अप्रिलका दिन काठमान्डु बाट कैलाली आइपुगेका श्रमीक डेभिडले भनेका छन, ‘काठमान्डौमा अनागरिक भइयो त्यसैले हामी सात दिनमा कैलाली आइपुग्यौँ ।‘ उनी श्रीमती सँग कैलाली फर्केछन् । साथमा भएको २५ शय पनि सकिएछ । उनले थपेका छन्, ‘काठमान्डुमा राहत लिन नागरिकता चाहिने रहेछ मेरो नागरिकता गाउँमै थियो ।‘ सात दिनमा उनले मनकारी केहि ट्रक ड्राइभरहरु भेटेछन् र बाटो छोटिएछ ।  यो खबर १७ अप्रिलको अनलाइन खबरमा प्रकाशित छ ।

काठमान्डुबाट मात्र होइन यतिबेला चारै दिशाका नेपाली यतिबेला हिँडीरहेका भेटिन्छन् । यसमा देशको सीमा भित्रको कुरा मात्र छैन भारतबाट नेपाल छिर्न नपाएर उतै रोकिएकाहरुको पनि छ ।

जस्तै नेपालको दार्चुला जिल्ला पारी भारतको धार्चुला पर्छ । धार्चुलाको कोरोना शिबिरमा सात शय नेपाली छन् । त्यहिँ छन् किरीयापुत्री वासुदेव भट्ट । उनी भारतको पिथौरागढमा श्रम गर्न गएका थिए । एकाएक बन्दाबन्दी शुरु भो उनी घर फर्कने आशले हिँडेर धार्चुला आए तर नेपाल छिर्न पाएनन । यता घरमा उनकी आमा को स्वर्गबास भो । उनी किरीया बसेको ठाउँ र उनको घर तिन दिनको बाटोमा छ । यो खबर १७ अप्रिलको सेतोपाटीमा प्रकाशित छ ।

सामाजिक सञ्जाल बाट

अर्को यस्तै कथा छ धादिँगको ज्वालामुखी गाउँपालिकाका होमबहादुरको । घरायसी किनमेलको लागि उनी चितवन पुगेका थिए । एकाएक बन्दाबन्दी शुरु भो । दुइ हप्ता उतै रोकिए तर मनले मानेन घर फर्कै । घर फर्केको साँझ उनले थाह पाए उनको गाउँको पुलमा अग्ला अग्ला पर्खाल लगाइएको रहेछ । पुलको फलामे बार चढेर उता झर्छु भन्दा उनी पुलबाट बुढीगन्डकीको बगरमा खसे र त्यहिँ प्राण त्यागे । यो खबर केहिदिन पहिलाको सेतोपाटी अनलाइनमा प्रकाशित छ ।

त्यसो त बन्दाबन्दीले भारतिय श्रमीकलाई पनि छोएको छ । बिहार राज्यका नजबुर आलम पाँचथरको तुम्बेबा गाउँपालिकामा निर्माणाधिन पुल बनाउने काममा सँलग्न थिए । बन्दाबन्दी शुरु भयो घर फर्कन पाएनन । उनी अरु जस्तै श्रम क्याम्पमा बसे । राती क्याम्पसमा माथिबाट ढुँगाखस्यो । त्यहिँ ढुगाँले किचिएर उनको प्राणन्त भयो । यो खबर राजधानि दैनिकको अनलाइन सँस्करणमा अप्रिल १३ मा प्रकाशित छ ।

खोजि पस्ने हो भने नेपाली मिडियामा यस्ता थुप्रै दुखका कथाहरु यत्रतत्र भेटिन्छन् । गाउ या सहर बन्दाबन्दीले सबै भन्दा बढी निम्न आयस्तर भएका नागरिकलाई बिजोग पारेको छ । त्यसो त अर्को बर्ग पनि छ शहरमा जसको गाउँमा घर छ र खेती छ ।

नेपालमा सबैलाई थाह छ बन्दाबन्दीको समय छ तर सबैलाई के थाह छैन भने यो बन्दाबन्दी कहिले खुल्छ । यहि अन्यौल र अनिश्चितता भित्र मानिसले उपाय खोजेको छ आफ्नो घर फर्केने ।

उनीहरुलाई न हिजो सरकारले मदद्त गरको थियो न आज मद्दत गर्छ भन्ने बिश्वास छ । उनिहरुलाई बिश्वासै छैन कि शहरमा गतिशिल जीवन रोक्दा सरकारले मद्दत गर्छ । उनिहरुले देखेको सरकार गाउँपालिकामा छ जहाँ नेपाली होइन फलानो राजनितिक पार्टिका फलाना मानिस छन् । धेरै भए त्यहाँ उनिहरुको जन्म र मृत्यू दर्ता हुन्छ । जिल्लाको केन्द्र सम्म पुगे सीडओले नागरिकता बनाइदिन्छन् । बढीमा भएबृद्द भत्ता सम्म आउछ । बाँकी उनिहरुलाई सरकारी स्कूलमा पनि बिश्वास छैन । सरकारी अस्पतालमा पनि बिश्वासै छैन। सरकारले अन्य सेवा पनि दिन्छ भन्ने थाहै छैन । दिनुपर्छ भन्ने माग पनि छैन । जसरी हिजो चलेको थियो आज पनि उस्तै छ । घर अगाडि कुटो कोदालो गैँची प्रयोग गरेर मरेर मोटर बाटो खन्य तर बाटो बनेपछि साहुले बस गुडाएको छ त्यो गाडिको भाडा मनपरी असुलेको छ । त्यति पनि नियन्त्रण भएको देखेका छैनन । हरेक महिना दाल चामलको भाउ बढेको छ ।

नेपालमा नागरिक र सरकारको बिस्वास टुटेका यस्ता कथा बग्रेल्ती छन् गाउ गाउँमा नेपालमा ।

यहि अबिस्वासको परिणामा मानिसहरु काखे बालक च्यापेर हिडिरहेछन् अनवरत । कति दिनमा घर पुगिन्छ अन्यौँल छ । बाटोमा खान पाइएला कि नपाइएला अन्यौल छ । यो अन्यौलता बिच पनि मानिसहरुको आशा छ घर पुग्न सकिन्छ ।

यस्ता अमानविय घटनाहरु हुनुमा राज्य सँयन्त्रको भयँकर त्रुटी देखिन्छ । बिकास या चेतनाको कमी भएर सरकारले यसो गरेको होइन ।  यसो हुनुको कारण हचुवा निर्णय गर्नु हो । देशको बास्तविक समस्याको पहिचान नै नहुनु हो । त्यसले दिने परिणाम के हुन सक्छ भनि नसोच्नु र आफूले गरेको निर्णय जवरजस्ती थोपर्नु हो ।

यो बेला हामीले गर्न सक्ने काम भनेको सरकारलाई झकझकाउने हो । कमसेकम श्रमीकहरुलाई घर फर्कने उपाय जुटाइदेउ भनि माग गर्नु हो ।

हामीहरु फ्रान्समा छौँ र हामीले फ्रान्समा देख्यौँ यहाँ पनि बन्दाबन्दी छ र बन्दा बन्दी लागू भैरहेकै छ । हामीले देख्यौँ बन्दाबन्दीलाई यहाँ बिस्तार बिस्तार प्रबेश गराइयो । नागरिकलाई खाना किन्ने मौका दिइयो । घर जाने मौका दिइयो । बन्दाबन्दी शुरु भएपछि केहि दिन प्रहरी नियन्त्रण तिब्र भएन । तिब्र पार्ने अबस्था आएपछि सरकारले तिब्र रुपमा जरीवाना तिराउने नियम ल्ययो जसले गर्दा बन्दाबन्दी सफल पनि देखियो ।

नेपालमा भन्दा फ्रान्समा ठीक उल्टो छ । यता नागरिक र सरकार बिच अहिले थप बिश्वास जोडिएको छ । सरकारी ढुकुटी रित्तेला तर आम नागरिकमा के परेको छ भने सरकारले जे गरेको छ हाम्रै लागि गरिरहेको छ ।

कोरोना सँक्रमणको कुरामा हेर्यो भने फ्रान्समा जस्तो हाहाकार नेपालमा छैन । नेपालमा बन्दाबन्दीलाई एक हप्ता ढीलो लागू गर्न सकिन्थ्यो । सबै नागरिकलाई घर फर्कने मौका दिन सकिन्थ्यो । सीमा पारीका भारतिय शहरमा आइपुगेका आफ्ना नागरिकलाई देश भित्र छिराइवरी एकान्तवासमा पठाउन सकिन्थ्यो । के के न गर्नु जस्तो गरी तुरुन्तै निर्णय गरेर अनि नागरिकका टाउकामा लाठी बर्साएर निर्णय लागू गराउन जरुरत थिएन । बिस्तारै सूचना दिएर नागरिकलाई सचेत बनाएर यति काम गर्न सकिन्थ्यो ।

यो लेख पढिरहेका हामी सबैलाई थाह छ कोरोना सँक्रमणको उपचार छैन । यो भाइरस फेरि पनि आउँछ र यस्ता बन्दाबन्दी हामिले अझै भोग्नुपर्छ । विश्वले नै भोगिरहेकव यो कठिनाइ पार गर्न मानिसलाई घर फर्कन प्रोत्साहन गर्नुपर्छ र चाहनेलाई स्वदेश होस या बिदेश घर फर्कने अबसर जुटाइदिनु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here