भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा पुर्याउने भनेर पठाएको चन्द्रयान-२ को सम्पर्कविहीन भएक भएको छ। चन्द्रयान– २ मार्फत् चन्द्रमामा पठाइएको विक्रम ल्याण्डरलाई सुरक्षित रुपमा चन्दमामा अवतरण गराउने क्रममा सम्पर्क टुटेको हो ।
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन(इसरो) का प्रमुख के सिवनले चन्द्रमाको सतहमा पुग्न २ किलोमिटर बाँकी हुँदा विक्रम ल्याण्डरसँग सम्पर्क टुटेको बताए। चन्द्रयान-२ अवतरण हुने भनिएको ठाउँ दक्षिणी ध्रुवमा अहिलेसम्म कुनै यान पुगेका थिएनन्। वैज्ञानिकहरुका अनुसार चन्द्रमाको यो क्षेत्र निकै अप्ठ्यारो क्षेत्र हो । यद्यपि, यहाँ पानी र जीवको सम्भावना रहन सक्ने उनीहरुको आँकलन छ। चन्द्रयान-२ का लागि भारतले १४.१ करोड डलर लगानी गरेको थियो।
विक्रम ल्याण्डर सफलतापूर्वक अवतरण हुन सकेको भए रुस, अमेरिका र चीन पछि भारत चन्द्रमामा अवतरण गराउन सक्ने चौथो राष्ट्र बन्ने थियो । यसअघि इजरायलले पनि त्यो प्रयत्न गरेको थियो तर उसको त्यो प्रयास असफलतामा टुंगिएको थियो।
भारतीय अन्तरिक्ष वैज्ञानिकको उपलब्धिको हौसला बढाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बेंग्लोरमा रहेको इसरोको मुख्यालय पुगेका थिए । विक्रम ल्याण्डरसँगको सम्पर्क टुटेपछि प्रधानमन्त्री मोदीले वैज्ञानिकहरुलाई हौसला दिँदै भने, ‘जीवनमा उतार–चढाव आइरहन्छ । देश तपाईँहरुप्रति गर्व गर्दछ । तपाईँहरुको मेहनतले धेरै कुरा सिकाएको पनि छ । मेरो तर्फबाट तपाईँ सबैलाई धेरै बधाई छ । तपाईँहरुले देश र विज्ञानको सेवा गर्दै हुनुहुन्छ । म पूर्ण रुपमा तपाईँहरुको साथमा छु ।’
भारतले यसअघि सन् २००८ मा चन्द्रयान-१ पठाएको थियो। सतहमा अवतरण नभइकनै उक्त यानले चन्द्रमामा पानीको खोज गरेको थियो।