एटीएम ह्याकिङ प्रकरणः भागेका चिनियाँ लुटेराहरु सहित मनी एक्सचेन्ज सञ्चालक समेत पक्राउ

बिभिन्न नेपाली बैंकका एटीएम प्रणाली ह्याक गरेर करोडौं रकम चोरिएको घटनामा ६ जना चिनियाँ लुटेराहरु सहित तीन मनी एक्सचेन्ज सञ्चालक पक्राउ परेका छन् ।

चिनियाँ ह्याकरले नेपाली बैंकका एटिएम सञ्चालन प्रणाली नै ह्याक गरेर पैसा निकालेका थिए । शनिबार तीनवटा बैंकको एटिएम मेसिनबाट ६ वटा बैंकको कार्ड प्रयोग गरेर उनीहरूले एक करोड ७६ लाख रुपैयाँ झिकेका थिए । ह्याक गरी निकालेको पैसासहित पाँच चिनियाँ नागरिकलाई शनिबार राजधानीको एक होटेल बाट पक्राउ गरिएको थियो । उनीहरूको साथबाट एक सय ३२ वटा नक्कली र १७ वटा सक्कली भिसा कार्ड फेला परेको थियो  ।

एटिएम नेटवर्क ह्याक गर्न उनीहरूले चीनबाटै अत्याधुनिक डिभाइस ल्याएका थिए । प्रहरीका अनुसार, ‘स्विच ह्याक नै भएको यो नेपालमै पहिलो घटना हो । वेलैमा घटनाको अप्रेसन नगरिएको भए मुलुकको अर्थतन्त्रमै ठूलो धक्का लाग्न सक्ने थियो ।’

सामान्यतया एउटा एटिएम बुथमा २० लाख रुपैयाँ अट्छ । दरबारमार्गस्थित नबिल बैंकको एटिएम बुथबाट शनिबार दिउँसैदेखि नाटकीय ढंगले पैसा झिकिँदै थियो । दुई–तीन दिनलाई पुग्ने रकम एकैदिन झिकिएपछि नबिल बैंकका कर्मचारीले निगरानी बढाए । यो खबर प्रहरी परिसरमा आएपछि डिएसपी होबिन्द्र बोगटी नेतृत्वको टोली घटनास्थल पुग्यो । र, नबिलको एटिएम बुथको निगरानी थाल्यो । त्यही वेला झु लियाङ आङ नामका चिनियाँ नागरिक बुथबाट बाहिरिँदै गरेको अवस्थामा देखिए । उनलाई प्रहरीले खानतलासी लियो । उनको साथबाट २० वटा एटिएम कार्ड र ४५ हजार रुपैयाँ बरामद भयो ।

त्यसपछि प्रहरीले समातिएका झुसँग थप बयान लियो । उनका अन्य सहयोगी हात्तीसारस्थित माया मनोहर होटेलमा रहेको खुल्यो । प्रहरी घटनास्थल पुग्यो । दुई चिनियाँ नागरिक भाग्दै गरेको अवस्थामा भेटिए । प्रहरीले दुवैलाई नियन्त्रणमा लियो । खानतलासीका लागि कोठामा लग्यो । कोठामा अन्य तीन चिनियाँ फेला परे ।

‘प्रहरीले खनतलासी लिने क्रममा उनले वीच्याटमार्फत आफू पक्राउ परेको सूचना दिएका रहेछन्’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘त्यही सूचनाका कारण होटल माया मनोहर बुटिकमा रहेका चिनियाँ पैसा बोकेर भाग्न खोजेका थिए’

भागेका मध्ये एक जना चिनियाँ केरुङ नाका पुगेको तर सुरक्षा व्यवस्था कडा भएकाले काठमाडौं फर्किएको थाहा हन आएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रवेश गरेलगत्तै उनीलाइ प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनको साथबाट ६ हजार अमेरिकी डलर पनि बरामद भएको छ ।

यस्तै चिनियाँ नागरिकले पैसा साट्न प्रयोग गरेको दुई मनी एक्सचेन्जका तीन जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले डेक्सो मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपाल मनी एक्‍सचेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडीलाई पक्राउ गरेको हो ।

एटीएम सिस्टम ह्याक गरेर रकम चोरेका चिनियाँहरुले मनी एक्सचेन्जमा २९ लाख ९९ हजार नेपाली रुपैयाँ साटेर २५ हजार ८ सय ६२ अमेरिकी डलर लिएका थिए । गैरकानुनी रुपमा सटही गरेको नगदसहित पक्राउ गरिएको प्रहरीले बताएको छ । शनिवार भएको घटनालाई नेपालको “अहिलेसम्मकै ठूलो” साइबर आक्रमण मानिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here