

प्रधानमन्त्री केपी शर्मा ओली यहि साता युरोपका बिभिन्न देशहरुको औपचारिक भ्रमण गर्ने क्रममा यहि बुधवार १२ जुन २०१९ देखि फ्रान्सको राजधानी पेरिसमा छन्। उनले बुधवारनै फ्रान्सका व्यवसायीहरुको संगठन मेदेफ संग छलफल गर्दै नेपालमा लगानी गर्न आग्रह गरेका थिए। नेपाली राजदुतावास पेरिसले आयोजना गरेको कार्यक्रम अन्तर्गत बिहिबार दिउसो २ बजे देखि ४ बजे सम्म उनले फ्रान्सका बिभिन्न सामाजिक व्यक्तित्वहरु, व्यवसायीहरु, नेपाली संघसंस्थाहरुका प्रतिनिधिहरू तथा नेपाललाइ माया गर्ने फ्रेन्च नागरिकहरुलाइ भेटघाट गरेका छन्। त्यसभन्दा अगाडी बिहान उनले प्रवासी नेपाली एकता मंच फ्रान्स लगायत एनआरएनए बेल्जियम र एनआरएन आइसीसीका पदाधिकारीलाइ भेटेका थिए। उनले बिहिबारनै बेलुका साढे ५ बजे फ्रान्सेली प्रधानमन्त्री एडवार्ड फिलिप संग द्वपक्षीय सम्बन्धका बारेमा छलफल गरेका थिए ।

प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्री एडवार्ड फिलिपबीच भएको सौहार्दपू्र्ण कुराकानीमा फ्रान्सका प्रधानमन्त्रीले नेपालले विश्वका विभिन्न भू-भागमा शान्ति कायम गर्न निर्वाह गरेकाे भूमिकाको प्रशंसा गरेका थिए। नेपाल र फ्रान्सले यसै वर्ष कुटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ मनाउँदै छन् सोहि कारण पनि उनको फ्रान्स भ्रमण धेरै महत्वका साथ् हेरिएको छ।
फ्रान्स बेलायत, अमेरिका र भारतपछि नेपालले कुटनीतिक सम्बन्ध स्थापना गरेको चौथो मुलुक हो। नेपाल र फ्रान्सबीच सन् १९४९ अप्रिल २० मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो। केहि दशक देखि फ्रान्स र नेपालको कुटनैतिक सम्बन्ध गतिहीन जस्तै बन्न पुगेको थियो। प्रधानमन्त्री स्तरीय यो भ्रमण पछि बिभिन्न सन्धि सम्झौताहरु अगाडी बढाउदै दुइ देश बीचको सम्बन्ध सुमधुर हुने विश्वास गरिएको छ।

नेपाल फ्रान्स उच्चस्तरीय भ्रमणको इतिहासमा तत्कालीन श्री ३ जंगबहादुर राणाले सन् १८५० को बेलायत भ्रमणका क्रममा फ्रान्सको भ्रमण गरेका थिए। नेपालको तर्फबाट सन् २००१ फागुनमा तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला औपचारिक भ्रमणका लागि फ्रान्स पुगेका थिए। १९ बर्ष अगाडीको त्यो नै नेपाल र फ्रान्स बीचको अन्तिम उच्चस्तरीय भ्रमण थियो।
