एनआरएनले ल्यायो “एनआरएन फेमिली कार्ड”

गैरआवासीय नेपाली संघ (एनआरएनए)का पञ्जीकृत सदस्य एवं उनीहरुका परिवारलाई लक्षित गरी एनआरएन फेमिली कार्ड ल्याइएको छ । गैरआवासीय नेपाली संघको सचिवालय बालुवाटारमा आइतबार पत्रकार सम्मेलन गरी अध्यक्ष भवन भट्ट र उपाध्यक्ष सपिला राजभण्डारीले औपचारिक सुरुवात गरेका छन् ।

एनआरएन फेमिली कार्ड संघका पञ्जीकृत सदस्यहरुका नेपालमा बसोबास गर्ने परिवारका बाबु–आमा, श्रीमान–श्रीमती, र छोराछोरीले यो कार्ड प्राप्त गर्न सक्ने अध्यक्ष भट्टले जानकारी दिए । यद्यपी विवाह गरेका सन्तानका लागि भने यो व्यवस्था लागू हुने छैन ।

संघले सदस्यलाई सदस्यता बापत केही सुविधा पनि प्राप्त होस् भन्ने हेतुले विभिन्न व्यावसायिक प्रतिष्ठानहरुसँग सहमति गरी ति प्रतिष्ठानले आपूर्ती गर्ने सेवा वा वस्तुमा छुट वा सहुलियत दिने प्रणालीको विकास गरेको जनाइएको छ । जस अन्तर्गत ती प्रतिष्ठानले संघका कार्ड धारकहरुलाई आफ्ना वस्तु र सेवामा निश्चित मात्राको सहुलियत दिने अध्यक्ष भट्टले जानकारी दिए ।

कार्ड पाएपछि संघमा पञ्जीकृत सदस्य र उनीहरुका परिवारका सदस्यले नेपाल भित्र र बाहिर संघसँग सहमति गरेका विभिन्न, अस्पताल, विविध स्वास्थ्य संस्थाहरु, बालबालिका तथा ज्येष्ठ नागरिक हेरचाह केन्द्र, विद्यालय तथा कलेज, होटेल, रेष्टुरेन्ट, सुपर मार्केट, एयरलाइन्स, ट्राभल, टुर एण्ड टिकट एजेन्सी, सूचना तथा सञ्चार सम्बन्धि क्षेत्र, बैकिंङ क्षेत्र, बीमा, फिटनेश सेन्टर लगायतका उद्योग प्रतिष्ठानबाट प्राप्त गर्नेछन् । कार्डको म्याद २ वर्षको हुनेछ । त्यस पश्चात कार्ड पुनः नवीकरण गराउनुपर्नेछ ।

यस्तो कार्ड प्राप्त गर्न सम्बन्धित सदस्यले सचिवालयमा कार्ड बनाउन चाहने परिवारका सदस्यको विवरण उपलब्ध गराउनु पर्नेछ । संघले आफ्ना सदस्यहरुको कार्ड बनाउने प्रक्रियाको विगतदेखि नै सुरु गरिसकेको र एउटा कार्ड बनाउन एक हजार रुपैया लाग्ने जनाइएको छ ।

अध्यक्ष भवन भट्टले भने–‘ गैरआवासीय नेपालीलाई संघको सदस्य बन्न थप प्रोत्साहन होस भनी यो व्यवस्थाको सुरुवात गरेका हौं ।’ यस्तै संघकी उपाध्यक्ष सपिला राज भण्डारीले लामो समयदेखिको प्रयासले सफलता हासिल गरेको बताइन् ।

आगामी अक्टोबरसम्म कम्तीमा पनि ७ सय विभिन्न स्वास्थ्य, शिक्षा, बैकिंङ, बीमा लगायतका क्षेत्रका प्रतिष्ठानहरुसँग सहमति गरी कार्ड मार्फत विशेष सहुलियतको व्यवस्था गरिने उपाध्यक्ष राजभण्डारीले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here