फ्रान्सका नेपाली संघसंस्थाहरुको संयुक्त आयोजनामा नयाँ बर्षको कार्यक्रम भव्यरुपमा सम्पन्न

प्रकाश सापकोटा, पेरिस फ्रान्स। “उही खोलीको माछा उही खोलीको पानी गीत” मा स-साना कलाकारहरुको प्रस्तुती संगै सुरु भएको थियो पेरिसमा २०७६ सालको संयुक्त नेपाली नयाँ बर्षको कार्यक्रम। सामुहिकरुपमा कार्यक्रमको आयोजना गरिएकोले पनि उल्लेख्यरुपमा नेपालीहरुको सहभागिता रहेको थियो। कलाकारहरु एकपछि अर्को गीतमा नाच्दै जाँदा हुटिङ र वन्स मोर भन्दै दर्शकहरुले मनोरञ्जन लिएको देख्दा बिभिन्न समुदाय र क्षेत्र बाट आएका नेपालीहरुबीच कार्यक्रमले एकताको भावना उजागर गरेको प्रष्ट देखिन्थ्यो, कार्यक्रमको मुल उद्देस्यनै यहि थियो एकताको सन्देश फैलाउने।

यहि एकताको सन्देश दिन १४ अप्रिलका दिन एकजुट भएका थिए फ्रान्सका १२ वटा नेपाली संघसंस्थाहरु। एनआरएनए फ्रान्सका अध्यक्ष एक बहादुर मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि फ्रान्सका लागि महामहिम राजदुत दिपक अधिकारि हुनुहुन्थ्यो। केहि दिन आगाडीमात्र फ्रान्स आउनुभएका नवनियुक्त राजदुत अधिकारिलाइ पनि पेरिसवासी नेपालीहरुलाइ पहिलोपटक एकैसाथ भेट्ने अवसर जुटेको थियो। संयुक्तरुपमा पानसमा दियो बाली नेपाली रास्ट्रिय् गान बाट उद्घाटन गरिएको कार्यक्रममा पकोफेन फ्रान्सकी अध्यक्ष सुमित्रा प्रधानले स्वागत मन्तब्य दिनुभएको थियो।

कार्यक्रम बिभिन्न प्राविधिक कारणले केही समय ढिला सुरु भएपछी आयोजकहरुले आफना मन्तब्यलाई छोटो बनाउदै दर्शकहरुको मनोरन्जनमा बडी ध्यान दिएका थिए। एकता समाज फ्रान्सका अध्यक्ष प्रमोद पाण्डे, म्याग्दी समाज फ्रान्सका अध्यक्ष हेम बानियाँ र मगर समाज फ्रान्सका अध्यक्ष रमेश थापाले संयुक्त रुपमा सांस्कृतिक कार्यक्रम गर्न पाएकोमा खुसि व्यक्त गर्दै यसलाई निरन्तरता दिनेमा जोड दिनु भएको थियो। नेपाली संस्कृतिक गृहका अध्यक्ष सुरज श्रेष्ठले जुन महीनामा हुने नेपाली मेलामा सबैलाई निम्ता गर्नुभएको थियो। त्यस्तै जन सम्पर्क समिति फ्रान्सका अध्यक्ष सुधिर रानाले एकताको सन्देश सबैसम्म पुगोस भन्दै नेपालमा भ्रस्टाचार बिरुद्द सबै एक हुनु पर्ने बताउनु भयो।

एनआरएनए फ्रान्सका महासचिव नरेन्द्र शाही र इनास फ्रान्सका महासचिव महेन्द्र अधिकारिले संयुक्तरुपमा कार्यक्रमको संचालन गर्नुभएको थियो। इनासका गायन तर्फका उत्कृस्टहरु विजय लामा र वर्षा चुडालको सुमधुर स्वरलाइ सबैले तालीले स्वागत गरेका थिए। एनआरएनए फ्रान्सका संस्थापक अध्यक्ष हरिहर अर्यालले कविता बाचन गर्दै झन्डा दिवशको महत्व बताउनु भएको थियो भने संस्थाकै भूपु उपाध्यक्ष हरि सापकोटाले कविता मार्फतनै सबैलाई नयाँ बर्षको शुभकामना दिनु भएको थियो।

प्रवासी नेपाली एकता मंच फ्रान्सका संयोजक तथा एनआरएनए फ्रान्सका निवर्तमान अध्यक्ष भक्त वाग्लेले आफुले सधै संयुक्तरुपमा नयाँ बर्ष मनाउनेमा जोड दिदैं आइरहेको बताउदै नवनियुक्त राजदुतलाइ शुभकामना दिनुभएको थियो। त्यस्तै तमु समाजका अध्यक्ष चित्र गुरुङ, गोर्खाली समाजका अध्यक्ष सुरेन्द्र काप्री, इनास फ्रान्सका अध्यक्ष प्रविन सापकोटा र तामांग समाज फ्रान्सका प्रतिनिधि मिलन तामाङ्ले सबैलाइ शुभकामना दिनुहुदै सबै संस्थाहरु एकबद्द भइ सामाजिक कामहरू गर्नुपर्ने बताउनु भएको थियो। एनआरएनए फ्रान्सका अध्यक्ष एक बहादुर मल्लले सबै संघसंस्थाहरु मिलेर जानुको बिकल्प नभएको र यस्तै सामुहिक कार्यलाइ निरन्तरता दिइने बताउदै नयाँ बर्षको शुभकामना दिनुभएको थियो।

नवनियुक्त राजदुत दिपक अधिकारिलाइ सबै संघ संस्थाका अध्यक्षहरुले खादा ओडाई स्वागत गरेका थिए। राजदुत अधिकारिले फ्रान्स स्थित नेपाली संघसंस्थाहरुसंग हातेमालो गर्दै अगाडी बढ्ने बताउदै आफुलाई स्वागत गर्नु भएकोमा धन्यवाद दिदैं सबैलाई नयाँ बर्षको शुभकामना दिनुभयो।

संस्कृतिक कार्यक्रमकै क्रममा इनास फ्रान्सको नृत्य तर्फकी बिजेता पुजा अधिकारिले प्रस्तुति दिदाँ र त्यसपछिको लाइभ कन्सर्टमा “जोमसमै बजारमा” लगायतका गीतहरु घन्किदा हल भरिकै दर्शकहरुलाइ नचाउदै आयोजकहरूले कार्यक्रमको समाप्ति गरेका थिए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here