परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली ५ सदस्यीय टोलीसहित जेनेभामा

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को चालिसौं बैठकमा भाग लिन ५ सदस्यीय नेपाली प्रतिनिधिमण्डल सहित अहिले जेनेभामा छन्।

फागुन १३ गते हुने परिषद्को उद्घाटन सत्रमा उनी सहभागी हुने तथा १४ गते परिषद् बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । हाल नेपाल राष्ट्रसंघीय मानव अधिकार परिषद्को सदस्य हो । मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त मिचेल बेचेलेटसँग फागुन १५ गते द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मानवाधिकार परिषद्को बैठकमा सहभागी हुने सिलसिलामा जेनेभामा रहँदा परराष्ट्रमन्त्री ज्ञवालीले विभिन्न मुलुकका परराष्ट्रमन्त्री तथा जेनेभास्थित विभिन्न संयुक्त राष्ट्रसंघीय निकायका प्रमुखहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनले युरोपेली आणविक अनुसन्धान संगठनको पनि भ्रमण गर्नेछन् । मन्त्री ज्ञवालीले गैरआवासीय नेपाली संघ र नेपाली समुदायका नेतासँग पनि छलफल गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here