लण्डन। बेलायतमा एक नेपाली युवकलाई समलिंगी बलात्कारको अभियोगमा १३ वर्ष जेल सजाय सुनाइएको छ । बेलायतको रेडिङ सहर बस्ने ४३ वर्षका देउकुमार लिम्बुलाई २२ वर्षका युवकलाई बलात्कार गरेको अभियोगमा सजाय सुनाइएको हो । रेडिङ क्राउन कोर्टले गत वर्ष जुनमा लिम्बुले ‘लर्निङ डिसेबिलिटी’ भएका २२ वर्षीय ती युवकमाथि यौन हिंसा गरेको ठहर गरेको छ । ती युवकको परिचय भने खुलाइएको छैन ।
प्रहरीका अनुसार ६ जुन २०१८ का दिन एकाबिहानै ती युवकले लिम्बुसँग आफ्नो घरजाने बाटो सोधेका थिए । राति आफ्ना साथीहरुसँग रमाइलो गरेपछि बिहानै घर जानलाग्दा आफूसँग फोन वा पैसा पनि नभएको उनले बताएका थिए । ती युवकको परिस्थितिको फाइदा उठाउँदै लिम्बुले ती युवकलाई घिसार्दै नजिकै बेर्सफोर्ड रोड खेल मैदान (प्ले ग्राउण्ड) मा लगेर उनीसँग जबर्जस्ती यौन सम्बन्ध राखेको प्रहरीले जनाएको छ ।
न्यायाधीशले सार्वजनिक ठाउँमा आफूसँग मद्दत माग्न आएको व्यक्ति विरुद्ध यौन हमला गर्ने लिम्बु यौन पिपासु भएको बताइन् । फैसला सुनाउँदै न्यायाधीशले आफ्नो अपराधका लागि लिम्बुले पश्चाताप समेत नगरेको बताइन् । सो घट्नाको सिसीटिभी फुटेज पनि अदालतमा प्रमाण स्वरुप प्रस्तुत गरिएको थियो । प्रहरीसँगको बयानमा लिम्बुले ती युवासँग सहमतिमा आफूले यौन सम्बन्ध राखेको दाबी गरेका थिए ।
उक्त घट्नापछि पीडित ती युवकले आफूलाई डर लाग्ने, घटनाको झझल्को आइरहने र राम्रोसँग सुत्न नसक्ने बताएका थिए । घटनाको दुई दिनपछि प्रहरीले लिम्बुलाई पक्राउ गरेको थियो । लिम्बुका एक १७ वर्षीय छोरा रहेको तथा उनकी श्रीमती दुई वर्ष अघि हङकङ फर्किएको समाचारमा उल्लेख छ । बेलायतको नेपाली समुदायमा केही वर्ष यता अपराधिक क्रियाकलापमा वृद्धि भइरहेको छ । बेलायती जेलमा हाल झण्डै एक दर्जन नेपाली रहेको नेपाली दूतावासको तथ्यांक छ ।