फ्रान्समा पहिलो लकडाउन सुरु भएको १ बर्ष पछि पनि अवस्था उस्तै

फ्रान्समा कोरोना भाइरसको महामारी सुरु भए पश्चात १६ मार्चका दिन रास्ट्रपति एमानुएल माक्रोंले पहिलो देशब्यापी लकडाउनको घोषणा गरेका थिए। त्यसबेला अत्यन्तै द्रुतगतिमा फैलिरहेको यस भाइरसले प्रतिदिन करिब ७० जनाको ज्यानलिने गरेको थियो भने हजारौ नयाँ संक्रमितहरु थपिदै गैरहेका थिए। एकबर्ष पछि अहिले प्रतिदिन करिब २० हजार नयाँ संक्रमित थपिदै गैरहेका छन भने मृत्यु हुनेको संख्या औसतमा २६५ भन्दा माथि रहेको छ।

फ्रान्सका स्वास्थ्य अधिकारिहरुले तत्काल लकडाउन गर्न सुझाव दिएतापनि सरकारले खस्कदो आर्थिक अवस्थालाइ मध्यनजर गर्दै त्यसको विकल्पमा अन्य प्रकारका प्रतिबन्धहरु लगाउदै आइरहेको छ।

कोभीड-१९ को कारणले गत १ बर्षको अन्तरालमा मृत्यु हुनेको संख्या ९० हजार नागेको छ। खोप कार्यक्रम सुरु भएता पनि ७५ बर्ष उमेर समूहका ४० प्रतिशत नागरिकले मात्र खोप लिएका छन। फ्रान्समा खोप कार्यक्रम सुरु हुँदा थुप्रै प्रक्रियागत समस्याले गर्दा ढिलाई भएता पनि अहिले हरेक हप्ता करिब ५ लाख नागरिकले खोप लगाइरहेका छन।

अहिले बेलायतबाट भित्रिएको नयाँ जातको भाइरस यहाँको स्वास्थ्य क्षेत्रको लागि नयाँ चुनौती बनेको छ। यो भाइरस ६० प्रतिशत बढी खतरनाक हुने बताइएको छ। पेरिस क्षेत्रमा रहेका अस्पतालहरुका सधन उपचार कक्षहरु कोभिडका बिरामीहरुले भरिएपछि नयाँ बिरामीहरुलाइ अन्यन्त्र लैजाने काम भैरहेको छ।

फ्रान्सका रास्ट्रपति एमानुएल माक्रोंले अब आउने दिनमा थप प्रतिबन्धहरु थपिन सक्ने संकेत गरेका छन्। हाल कायम रहेको आंशिक कर्फ्यू त्यति प्रभावकारी नभएपछि देशब्यापी वा प्रदेश(क्षेत्र) स्तरीय लकडाउन हुन सक्ने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here