प्रकाश सापकोटा, फ्रान्स
जनयुद्व, निरंकुस तन्त्र र जनआन्दोलन लगत्तैको शान्ति प्रक्रिया भोगेपछि हामीले समृद्वीको कुरा गर्दै थियौ, ‘नयाँ नेपाल’ को नारा पुरानो भएपछि ‘समृद्व नेपाल सुखी नेपाली’ भन्ने नारा अहिलेको सत्तापक्ष नेकपाले नै बजाएको थियो। तर देश आजको दलदल भित्र फस्नु कुनै आकस्मिक घटना नभएर नियोजित नै थियो भन्ने कुरा बल्ल बुज्दैछौ, नेकपाका दुइ अध्यक्षले एकले अर्कोलाइ गुलेली को मट्याङ्ग्रा तानेझैँ तान्ने र जोडले टाढा हुइकाइदिएर नेपालको कम्युनिस्ट आन्दोलनलाइ आफनो पकडमा लैजाने दाउमा थिए। आज दुवै तर्फको आरोप प्रत्यारोपले त्यसको पुष्टि गरेको छ। यस कार्यकालको मध्यावधिमा आइपुग्दा हामी सुखी त होइन रमिते नेपाली बनेका छौं।
हुनत् अहिलेको यो गोलचक्रले हामीलाई फेरी आत्म समिक्षा गर्ने र व्यवस्था सुधार्ने मौका दिएको हुनुपर्छ तर नेतृत्वमा रहेका शिर्ष भनाउदाहरुको साँढे जुधाईले राजनीतिक चेतना भन्दा धेरै अराजकता सिकाउला र विभाजन बढाउला र झन् अस्थिरता तर्फ धकेल्ला भन्ने डर अर्को ठाउँमा छ। ७ साल देखिकै यो गोलचक्र ७० बर्ष सम्म यथावत हुनु हाम्रो बिडम्बना हो।
आज संसद विधटन सम्म आइपुग्दा, हामीले नेकपालाइ मात्र दोष दियौं भने फेरी त्यहि अस्थिरताको राजनीतिलाइ निरन्तरता दिरहनेछौ। प्रमुख प्रतिपक्ष दल कांग्रेस, र जसपाको पनि नेकपाको जस्तै हालत छ, गुट, उपगुट आदि…. पार्टी भित्र मात्र होइन हाम्रो समाज, हाम्रो सोचले नै यो राजनीतिको प्रतिबिम्बित गरिरहेको छ। शिर्ष नेता भनाउदाहरुको अनुहारमा कुनै गम्भीरता छैन, कुनै अभिभाकत्व ग्रहण गर्न खोज्ने हाउभाउ छैन, तैपनि हामी गुरु सरह उनीहरुको अनुहायी बनेर बस्दिएका छौं, भाषणमा हास्दिएका छौं तालि ठोक्दिएका छौं।
जबसम्म राजनीतिमा दानवियकरण र देवत्वकरण गर्न बन्द गरिदैन र एकले अर्काको अस्तित्व स्वीकार गरि उसका जायज मागहरुको सम्बोधन गरिदैन देश समाज यसरिनै विभाजित भैरहन्छ। इतिहासमा हेर्दा त्रेतायुग, सतयुगमा त्यसबेला विद्वान भनिने ऋषिमुनिहरु जब राजदरवारमा आउथे, राजा ति ऋषिमुनिहरुको चरण छुन जाने गर्दथे तिनीहरुको कुरा ध्यान दिएर सुन्ने गर्दथे, विद्वानहरुको त्यसबेला त्यस प्रकारको सम्मान थियो। आजभोलि तिनै ऋषिमुनिहरुको भुमिमा राज्य संचालन गर्ने नाइकेहरु पढे लेखेका विद्वानहरुलाइ लाइनमा राखेर दलिय कित्ताकाट गरेर मात्र जागिर दिन्छन र कति कक्षा कति पटक फेल भएका नेताहरु आफ्ना भाषणमा आफुलाई सर्वज्ञानी ठानेर अहंकारको चटक देखाउने गर्दछन।
नेपालका नेताहरुले ४७ देखि गर्दै आएको राजनीति भनेको नै सत्तामुखी राजनीति हो, एउटा सानो गाउँको निर्वाचन क्षेत्र जीतेकै भरमा काठमान्डौको केन्द्रिय सत्ता हात पार्छन त्यसपछि त्यहाँसम्म लैजान जोड बल गर्ने आसेपासेलाइ पोस्न सुरु हुन्छ, चाहे त्यो कुनै पद दिएर होस वा कुनै ठेक्का पट्टा होस, माथि देखि गाउँपालिका सम्मकालाइ सर्लक्क पारिदिएपछि अर्को निर्वाचनमा तिनै जोडबलले बोकेर लैजान्छन। यो प्रक्रियाबाट सत्तामा पुगेपछि जनताको आकांक्षा सम्बोधन गर्न कहाँ के गर्ने योजना बनाउने उनीहरुसंग समय हुदैन, एक दुइ ओटा देखावटी काम गरेर चर्को प्रचार गर्न समय र पैसा खर्च हुन्छ। जबसम्म आफ्ना पार्टीका नेताका र केहि प्रतिपक्षका आसेपासेलाइ मिलाएर पोस्ने काम हुन्छ तबसम्म सत्ता टिक्छ नत्र त्यसलाइ जोगाउन वा फाल्न अर्को महाभारत सुरु हुन्छ, कार्यकर्ता सडकमा ल्याउन र अर्को समीकरण मिलाउन फेरी दौडधुप हुन्छ। यो राजनैतिक संस्कारमा हुर्किएको नेपालको राजनीतिक सोच छिट्टै बदलिने संकेत कहि कतै छैन।
प्रधानमान्त्री ओलीले ‘आरोपपत्र’ अदान प्रदान गर्दा पार्टी भित्र दिएको जवाफ चित्त बुज्दो भएनछ, आफ्नै दलका संसदहरुले नपत्याउने भएपछि सिंगो प्रतिनिधि सभानै फालियो। जसरि पनि जानु नै छ भने तमासा देखाउछु सजिलै यिनिहरूलाइ छोडीदिन्न भन्ने प्रकारको कुरा राजनीतिको उच्च तहमा भएको छ। समाजका हरेक क्षेत्रका लागि उदाहरणीय बन्नु पर्ने केन्द्रिय नेतृत्वमा यस्तो तल्लो सोच हुँदा त्यसले समाजमा कस्तो असर पार्ला ? प्रधानमान्त्री संग फेरी अहिले जवाफ मागियो, आफैले लड्डु खाएर ल्याएको संविधानमा एउटा पार्टी भित्र बहुमत हुदाँ हुदै संसद विघटनक गर्न पाउने धारा कहाँ छ ? प्रधानमान्त्रीले फेरी टालटुल परेर फर्काएको जवाफले सर्वोच्चको चित्त बुज्ला? फैसलाको प्रतिक्षा लामो बन्दै गैरहेको छ। भलै उहाँको यो कदमलाइ साहसी भनियोस वा अझै ‘राजनेता’ को उपमा दीइयोस, देवत्वकारण गरेर इन्द्रको अबतारनै किन नभनियोस.. इतिहासमा देखेकै हो हिजो पुर्व राजा ज्ञानेन्द्रले ‘कु’ गर्दा पनि एउटा भिडले त समर्थनन गरिरहेकै थियो, बिष्णुको अवतार भन्दै जयजकार गरेकै थियो। प्रधानमान्त्रीको त्यो ‘नेकपा’ भन्ने घर भित्रको झगडालाइ लिएर पुरै टोल खालि गर्नु पनि त ‘कु’ नै हो भन्ने तर्क वर्तमान व्यवस्थामा जायजनै हुन्छ।
चुनावनै विकल्प हो भने चुनाव पछि सरकारमा आउनेले पनि गुटीय कित्ताकाट गर्दा विकल्प चुनावनै देख्ने होलान, अनि के हरेक २ बर्षमा चुनाव गर्नुनै छ भने जनतालाइ स्थिरता र समृद्वीको झुटो नारा दिएर ल्याइएको संविधान फेरी किन नच्यात्ने? संविधाननै त होइन तर अस्थिरता निम्त्याउने १ २ पाना कुनै कालखण्डमा च्यात्नुनै पर्ने होला।
हरेक पटक व्यवस्था परिवर्तन गर्न एउटा युवा वा क्रान्तिकारी शक्तिले अहम भूमिका खेलेको हुन्छ, अहिलेको अवस्थामा नेपाली राजनीतिकै इतिहासमा सबैभन्दा नालायक युवा नेताको पुस्ता हामीले भोग्नु परेको छ। सत्तापक्ष होस वा प्रतिपक्ष, कुनै पनि युवानेताले आफ्नो पार्टीका शिर्ष नेतालाइ आँखामा आँखा जुधाएर, यो चाँही गलत हुदैछ है भनेर औला देखाउने हिम्मत गरेको छ? ४७ साले नेता सबैलाइ कुर्सी बाट हटाएर नेतृत्वको जिम्मेवारी लिनुपर्ने पालो युवा पुस्ताको थियो। कहाँ छ आजको युवा पुस्ता?