भारतीय सेनाध्यक्षलाई राष्ट्रपति द्वारा मानार्थ महारथी उपाधि प्रदान

काठमाडौं (जीएनएन), तीन दिने नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाई बिहीबार नेपाली सेनाको मानार्थ महारथीबाट विभूषित गरिएको छ । राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सो सम्मान प्रदान गरेकी हुन् ।

समारोहमा प्रधानमन्त्री केपी ओली, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष नरवणे १८ औँ सेनापति हुन् । विगत सात दशकदेखि दुबै देशका सेनाबीच एक अर्काको सेना प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रहेको छ । सो सम्मान पहिलो भारतीय सेना प्रमुख सेनापति जनरल के एम करिअप्पालाई सन् १९५० मा प्रदान गरिएको थियो । गत जनवरीमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले नयाँ दिल्लीमा आयोजित एक समारोहमा नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ महारथी पद प्रदान गरेका थिए । सो समारोह पश्चात् जनरल नरवणेले नेपालका सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपतिसँगको भेटका क्रममा जनरल नरवणेले आफूलाई दिइएको उक्त सम्मानप्रति विशेष आभार प्रकट गर्नुका साथै द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने उपायहरुबारे छलफल गरेको भारतीय दूतावासले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थल सेनाध्यक्ष नरवणेले शुुक्रबार औपचारिक भेट गर्ने कार्यक्रम छ । उनी शुक्रबार बिहान माउन्टेन फ्लाइटमा जाने कार्यक्रम पनि छ । उनी शुक्रबार नै स्वदेश फर्कनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here