बेल्जियममा ६ हप्ता लामो लकडाउन घोषणा

युरोपमा कोरोनाको दोस्रो लहरले अवस्था विकराल बन्दै गैरहेको छ। युरोपेली मुलुक बेल्जियमको हालत पनि नियन्त्रण बाहिर पुगेको छ। बेल्जियमको मन्त्रिपरिषदको शुक्रवार बसेको बैठकले दोस्रो देशब्यापी लकडाउन गर्ने घोषणा गरेको छ। बेल्जियमका प्रधानमन्त्री आलेक्जेन्डर द क्रो र स्वास्थ्यमन्त्री फ्र्यांक भेनदेनब्रुक ले संचारमाध्यम मार्फत मन्त्रिपरिषदको निर्णय सार्वजनिक गरेका हुन्। यसअघि दुइ छिमेकी मुलुक फ्रान्स र जर्मनीले कम्तिमा १ महिना लकडाउन गर्ने घोषणा गरिसकेका छन्। प्रधानमन्त्री क्रोले सम्बोधनका क्रममा कोरोनालाइ रोक्न “यो लकडाउन अन्तिम प्रयत्न हो” भनेका थिए।

गत २४ घण्टामा बेल्जियममा करिब २४ हजार कोभिड-१९ संक्रमित भेटिएका छन भने १३८ जनाले ज्यान गुमाएका छन्। नेपाल भन्दा सानो देश बेल्जियमको जनसंख्याको आधारमा अन्य युरोपेली देश संग तुलना गर्दा यो संख्या धेरैनै भयानक छ। तुलनात्मक रुपमा गत २ साता देखि फ्रान्समा भन्दा दुई गुणा तिव्र गतिमा भाइरस फैलिरहेको त्यहाको स्वास्थ्य विभागले जनाएको छ। संक्रमित मध्य औसत मृत्यु हुनेको संख्या पनि अन्य मुलुकको भन्दा धेरै छ।

यहि सोमवार २ नोभेम्बर बाट ६ हप्ताको लागि लागु हुने लकडाउन अवधिमा अत्यवस्यक बाहेक अन्य पसलहरु बन्द रहने छन। बार, रेस्टुरेन्ट, डिस्को, सिनेमा, थिएटरहरु भित्र बस्न निषेध गरिएको छ। पसल र रेस्टुरेन्टहरुले क्लिक एण्ड कलेक्ट (इन्टरनेट) मार्फत व्यवसायलाइ निरन्तरता भने दिन सक्ने छन्। ४ जना भन्दा धेरै जमघट हुन पाइने छैन। ब्युटी पार्लर, मसाज सेन्टर, कपाल काट्ने आदि शारीरिक स्पर्श हुन सक्ने व्यवसायहरु पूर्णरुपमा बन्द हुनेछन। विधालयहरु १५ नोभेम्बर सम्म बन्द रहने छन्। उच्च माध्यमिक तहमा भने इन्टरनेट मार्फत पढाई कायम रहने छ। त्यस्तै राजधानीमा ब्रुसेल्स र वालोन शहरमा राती १० बजे देखि बिहान ६ बजे सम्म र अन्य शहरहरुमा मध्यरात बाट बिहान ५ बजे सम्म कर्फ्यु कायम रहने निर्णय भएको त्यहाँका स्थानीय पत्रपत्रिकाले जनाएका छन। गत १ साता देखि सरकारले लागु गरेको कर्फ्यु लगायत अन्य सबै प्रकारका प्रतिबन्धात्मक उपायहरु असफल भएपछी अन्तत लकडाउन गर्ने निर्णय लिइएको हो। लकडाउन संगै विरामीले भरिएका कोभिड अस्पतालमा विस्तारै चाप घट्दै जाने र आइसीयुमा रहेका सिकिस्त विरामी र स्वास्थ्यकर्मीहरुलाइ केहि राहत पुग्ने विस्वास गरिएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here