एनआरएन पोर्तुगल: कानको लोती च्यातिने गरी उपाध्यक्ष द्वारा कुटपिट, कार्यालयमा ताला

लिस्बन (जीएनएन) – गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद पोर्तुगलको कार्यालयमा ताला लागेको छ। संघको राजधानी लिस्बनको अन्जोसस्थित कार्यालयमा ठूलो संख्यामा भेला भएका युवाहरुले संघको कार्यालयमा एउटा सूचना टांस्दै अनिश्चित समयको लागि ताला लगाई दिएका हुन् ।

गत आइतबार संघका वरिष्ठ उपाध्यक्ष भीमसेन थापा, कोषाध्यक्ष विक्रमजङ कुँवर र मनोनित सदस्य विशाल आचार्यले मिलन रेग्मी र रोशन उप्रेतीमाथि साङ्घातिक आक्रमण गरेका थिए । एनआरएनए पोर्तुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले मान्छे कुटेको यो पहिलो घटना भने होइन। उनले कतिलाई कुटे त्यसको लेखाजोखा छैन, तर समाजमा बाहिर आएका घटनामा नेपाली कुटेको यो पाँचौ घटना हो। 

थापाले कार्यसमिति सदस्य हुंदा ३ छुट्टाछुट्टै घटनामा ३ जना नेपालीलाई कुटेका थिए भने हाल वरिष्ठ उपाध्यक्ष पदमा दुई छुट्टाछुट्टै घटनामा ३ जना नेपालीलाई कुटेका छन्। आफ्नो बिरुद्धमा बोल्ने र लेख्नेलाई बाँकी नराख्ने धम्की दिने गरेका कारण कुटाई खाने डरले उपाध्यक्ष थापाको बिरुद्धमा पोर्चुगलको नेपाली समाजका अगुवाहरु बोल्न र लेख्न डराउंछन्।

आक्रमणबाट रेग्मीको कानको लोती च्यात्तिएर रगताम्मे भएका थिए । हातगोडामा समेत चोटपटक लागेको छ । उप्रेतीको खुट्टा, घुँडा र कुहिनामा चोटपटकसहित गहिरो दुखाइका कारण अस्पताल गएका थिए । उनीहरु उपचारपछि घर फर्केका छन् ।

घटनापछि मारपिटमा संलग्न एनआरएनए पोर्तुगल निकै आलोचित बन्यो र मारपिटका घटनामा संलग्न पदाधिकारीहरुलाई कारवाही गर्नुपर्ने मागहरु जनस्तर र स्वयं घटनाका पिडितहरुले गरे। तर, अध्यक्ष तिलक गैरेले मान्छे कुट्ने आफ्नै कार्यसमिति पदाधिकारीहरुलाई कारवाही गर्नुको सट्टा उल्टै बचाउने खेलमा लागे।

उक्त आक्रमणको विषयमा  पीडितले न्याय माग्दै एनआरएनएमा  निवेदन दिएका थिए । तर अध्यक्ष तिलक गैरेले कार्यसमितिलाई जानकारी नगराई सर्वपक्षीय बैठक भन्दै आफ्ना निकटतम अगुवाहरुलाई बोलाएर पीडितलाई डर धाक धम्कि दिएको खबर सार्वजनिक भएको छ । यस अघि सर्वपक्षीय बैठकमा घटना नमिल्ने हो भने सामाजिक अगुवाहरुलाई दिनगन्ती गन्न भन्दै सामाजिक संजालमार्फत धम्की दिएका थिए।

घटनालाई भित्रभित्र सामसुम पार्ने, मिलापत्र गर्ने र बारम्बार मारपिट गर्ने र संघको साख गिराउने काम गर्नेहरुलाई समेत बचाउने रणनीतिमा निरन्तर लागिपरेपछि नागरिक समाजका युवाहरु आक्रोशित हुंदै बिहीबार करिब ३ बजेतिर संघको कार्यालयमा पुगेका थिए।

संघको कार्यालयमा जम्मा भएका युवाहरुले अध्यक्ष गैरेलाई  जानकारी गराएर कार्यालयमा छलफलका लागि आउन अनुरोध गरेतापनि अध्यक्ष गैरेले आउन आनाकानी गरे। त्यस्तै घटनाका आरोपित संघका वरिष्ठ उपाध्यक्ष थापालाई पनि सम्पर्क गरेर कार्यालयमा आउन अनुरोध गरेको नागरिक समाजका युवाहरु बताउंछन्।  जति कोशिस गर्दा पनि अध्यक्ष गैरे र घटनाका आरोपित उपाध्यक्ष थापा छलफलको लागि संघको कार्यालयमा नआएपछि ३ घण्टासम्म कुरेर बसेका नागरिक समाजका युवाहरु आक्रोशित हुंदै एक सूचना टाँस गर्दै संघको कार्यालयमा ताला लगाई दिएका थिए।  

युवाहरूले कार्यालयमा ताला लगाउंदै वरिष्ठ उपाध्यक्ष लगायत घटनामा संलग्न सबैलाई कारवाही नगरेसम्म ताला नखुल्ने बताएका छन्।

थामथुम पर्ने प्रयास

संघका अध्यक्ष तिलक गैरेले हल्का कागजात लेखेर घटनालाई थामथुम पार्न लागि परे पनि यही घटनालाई लिएर एनआरएनए पोर्चुगलभित्र भने ब्यापक रडाको मच्चिएको छ।

संघका उपाध्यक्ष अशोक गुरुङले गलत कार्य गर्नेहरुलाई कार्वाही गर्नुको सट्टा उल्टै शक्तिको दुरुपयोग गर्दै पीडकलाई कार्बाही नगरी उल्टै उनीहरुकै समर्थन गर्ने,  प्रश्रय दिने गर्दा पीडकलाई झनै गलत कार्य गर्न हौसला मिलेको हुनाले अङ्कुश लगाउन अनुरोध गरेका छन् । 

एनआरएनएका केन्द्रिय प्रवक्ता डीबी क्षेत्रीलाई सम्पर्क राख्दा उनले आफुलाई यसबारे कुनै सूचना नआएको बताए । 

“एनसिसिले आफै छानबिन गर्ने र क्षेत्रीय संयोजक (आरसी)  मार्फत केन्द्रलाई पठाउने कार्य गर्छन् ।  आरसीको तहमा पनि समाधान नभए केन्द्रमा विभागीय हिसाबले महासचिवकोमा आउँछ, महासचिवले, केन्द्रिय सचिवालयमा ल्याउने हो । त्यसको  अध्ययन गरेर यदि कुनै पनि व्यक्तिले संस्थामा बसेर समाजको अहित हुने काम गर्छ भने अनुशासन समितिले दिएको सुझाव अनुसार कारवाही हुन्छ, र  कुनै असामाजिक काम भए गरेको भए स्वतः  त्यो ‘होस्ट कन्ट्री’ कै कानुन आकर्षित  हुने कुरा हो,” प्रवक्ता क्षेत्रीले भने।

त्यस्तै एनआरएनएका युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले आफुले सो घटना बारे थाहा पाएको र एनआरएन पोर्तुगलका अध्यक्ष र आइसीसी सदस्यलाई सो घटनाबारे जानकारी गराउन भनी सकेको बताए।  “युरोपमा बसेर सधै जथाभावी गर्न मिल्दैन।  संस्थामा बसे पछि संस्थाको मर्यादाको पालना गर्नै पर्छ,” उनले भने। 

पत्रकारमाथि कुटपिट 

यसअघि पनि उपाध्यक्ष थापाले ९ फेब्रुअरीका दिन लिस्बनमा सम्पन्न एक म्युजिकल कन्सर्ट स्थलमा समाचार संकलन गर्न गएका पत्रकार तथा एनआरएनए सदस्य सवीन धितालमाथि पनि हातपात गरेका थिए । पोर्तुगलको नेपाली समुदायमा त्यो घटनाले निकै हलचल ल्याउनुको साथै संघ र त्यसको नेतृत्व निकै आलोचित बनेको थियो। जतिनै सुकै बिरोध भएपनि एनआरएनए अध्यक्ष तिलक गैरे तीन महिनासम्म घटनाको बारेमा मौन बस्दै उल्टै घटनाका पिडित धिताललाई नै दोषी देखाएर हातपात गर्ने थापालाई बचाउने काम गरेका थिए।

पत्रकार तथा संघका सदस्य धितालमाथि कुटपिट गरेको घटना र आइतबारको घटनाका पीडितहरुको उजुरी संघको केन्द्रसम्म पुगेको छ।

घटनामा संलग्न प्रमुख पात्र एनआरएनए पोर्तुगलका बरिस्ठ उपाध्यक्ष भीमसेन थापाले घटनामा आफ्नो संग्लनता रहेको र आफुले मद्यपान गरेर पिटेको स्वीकार गरेका छन्। “मुख्यत: मिलन रेग्मीले मलाई एकघण्टा सम्म ल्याङल्याङ गरेपछि मैले दिक्क भएर उहाँको कानमा हात राखेर झट्कालेर हुत्याए दिए र एकदुई पटक हानाहान जस्तो स्थिति पनि भयो । उहाँले कानमा मुन्द्री लगाउनु भएको रहेछ, मेरो हात मुन्द्रीमा अल्झिएर मुन्द्रीले कानको लोती च्यातिन गइ रगत निस्कियो, पछि फेरि सामान्य स्थितिमा नै सबै गाडीमा लिस्बन हिड्ने काम भयो र हामी पनि फर्किऔं ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here