आधा अर्ब भ्रष्टाचार हुनबाट जोगाउने नवीन बिकलाइ एनआरएनले उल्टै दण्डित गर्दै

नारायण गाउँले, बेलायत

धेरैलाई लागेको थियो, इतिहासकै क्रुर र अमानवीय भ्रष्टाचारबाट देशलाई जोगाउन भूमिका खेल्ने केन्द्रीय सदस्य नवीन बिकलाई एनआरएनएले पुरस्कृत गर्नेछ । देशलाई दुई चार लाख चन्दा दिएर खादा ओढ्नुभन्दा झन्डै आधा अर्ब भ्रष्टाचार हुनबाट जोगाउनु ठूलो कुरा हुनुपर्ने हो । उनले त दुबै गरेका थिए ।

तर, उल्टो कारबाहीको सङ्केत गर्दै विज्ञप्ति पो आयो । राजनीतिबाट मुक्त त हामी को नै छौं र तर सबै कठपुतलीमात्रै छौं जस्तो पनि लाग्दैनथ्यो । विज्ञप्ति पनि कस्तो कायर जस्तो । नाम र के गल्ती गरेको हो भन्नेसम्म त लेख्नु नि !

उनले के कुरा गलत बोलेका थिए ? उनी आफै केन्द्रीय सदस्य रहेको संस्थाले मेडिकल सामग्री सहयोग गर्ने निर्णय सार्वजनिक गरेकै थियो । चीनको नेपाली दूतावासमा सामग्री बुझाउने निर्णय पनि पढिएकै थियो । अहिले चीन अन्य विश्वसँग हवाइ सम्पर्कमा छैन । यो कामको जिम्मा केन्द्रीय सदस्य हुनुले पक्कै उनको र चाइनाको एनसिसीमा हुँदो हो । उनी आफैले दूतावासदेखि महावाणिज्यदूतसम्म समन्वय भइरहेको बताएका थिए । गड़बड़ गर्ने नियत भएको भए त उनले सरकारी कोटेशन एकदम सस्तो छ भन्दा हुन् र एनआरएनएको खरीद पनि त्यही रेटमा गर्दा हुन् । पचास लाख त उनले त्यहीँ खान मिल्थ्यो । तर उनले देशको अनुहार हेरे । सस्तोमा चाइनिज सरकारले सिफारिस गरेको कम्पनीका सामान पाइँदा पाइँदै किन त्यति चर्को मूल्य भनेर आबाज उठाए । यो सरकारको विरोध थिएन, अनियमितताको विरोध थियो । अन्ततः त्यो सही साबित भयो ।

पहिले नै आफ्नै कार्यसमितिले निःशुल्क सहयोग गर्ने निर्णय गरेकाले उनले सरकारसँग जहाज पठाइदिन १० दिनको समय मागेका थिए । अब एनआरएनएले उनलाई पक्कै खरिद प्रक्रियाबाट हटाउला । उनी एक्लैले एक जहाज निःशुल्क सामान पक्कै पठाउन सक्दैनन् । यसमा उनको किरीकिरी होला र एनआरएनएले जितेको महसुस गर्ला ! प्रश्न त यो पनि उठ्छ कि, एनआरएनले पनि कतै त्यही सरकारी मूल्यमैं सामान किन्न त चाहेको थिएन ? उनले कतै कसैको प्लान चौपट त बनाएनन् ?

एनआरएनए केन्द्रको आर्थिक सङ्कलन अभियानलाई सघाउँदै उनले अलिकति रकम एनसीसी कोषमा सहयोग गरेका रहेछन् । संस्थाको कुनै भाइबर ग्रुपमा रकम दिनेहरूको लहरमा उनको नाम पनि थियो । उल्टो हाम्रा एनआरएनए अभियन्ताहरूले त्यो लिस्ट एडिट गरेर, संस्थाको नाम हटाएर, लौ यो सबै पैसा नवीनले आफै खान जम्मा गरेको हो भनेर मिडियामा पुऱ्याएछन् । रकम दिनेको नामसहित नवीनले एक करोड़ उठाएर खाँदै भन्ने समाचार प्रायोजित भयो । समाचारका लागि अलिकति दलालले लगानी गरे होलान् । एनआरएनएले विज्ञप्ति त त्यसमा पो निकाल्नु पर्थ्यो र सत्य यस्तो हो भनेर देखाउनुपर्थ्यो । सत्य भन्नुपर्थ्यो कि त्यो पैसा नवीनले उठाएको नभई संस्थाले उठाएको हो र त्यसमा नवीनले उल्टो सहयोग गरेका हुन् । अब त डेटाको त्यो हदसम्म दुरुपयोग हुने भएपछि एनआरएनएलाई कसैले किन सहयोग गर्ने ? मैले संस्थाको कुनै प्रोजेक्टलाई एक हजार सहयोग गरौँला । भाइबर ग्रुपको लिस्टमा मेरो नाम आउला । कसैले आठदश नामको स्क्रिनसट खिचेर लौ नारायण गाउँलेले पैसा उठाएर खायो भन्ने समाचार आयो भने के हुन्छ ? संस्थाले त उल्टो मलाई नचिन्ने विज्ञप्ति निकाल्ला भन्ने डर भो । धन्न एनसिसी जिउँदो थियो र स्पष्टीकरण दियो ।

एनआरएनए राजनीतिभन्दा माथि छ भन्छौं हामी, काममा पनि त्यो झल्किनु जरूरी हुन्छ । अझै मौका छ !

————————————-

 

धेरै विरोध आउन थालेपछि एनआरएनले चुपचाप बिज्ञप्तिनै डिलिट गरेको छ। 

नविन बिके काण्डमा प्रवक्ताको बिज्ञप्ति

प्रेस वक्तब्य

कोभिड-१९ को महामारीले अहिले विश्वमा विकराल स्थिति सृजना भएको छ, यो रोगबाट हजारौंले ज्यान गुमाई सकेका छन् भने लाखौं संक्रमणमा परेका छन् । यो महामारीले देश भित्र र बाहिर बस्ने नेपालीहरुलाई समेत प्रभाव पारेकोले संघलाई दोहोरो चुनौति थपिएको छ । प्रत्येक जसो मुलुकमा अप्ठेरोमा परेका नेपालीहरुका साथै मुलुक भित्रकै नेपालीहरुलाई सहयोग गर्नु हाम्रो कर्तब्य हो ।

संघका अध्यक्ष कुमार पन्तको संयोजकत्वमा संसारभरका विज्ञहरु रहेको एक उच्च स्तरिय समिति गठन गरी एक रणनितिक कार्ययोजना तयार गरिएको छ । सोही अनुरुपमा संघका विश्वभर छरिएका राष्ट्रिय समन्वय परिषदहरुले नेपाली कुटनीतिक नियोगहरुको सहकार्यमा नेपाली समुदायलाई सहयोग गर्दै आएको समेत जानाकारी गराउँदछौ ।

साथै विगतमा महाभुकम्प, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपमा झैं कोभिड-१९ महामारीका बिरुद्ध लड्न नेपाल सरकारसँग गैरआवासीय नेपाली संघले सहकार्य गर्दै आएको छ । यसको लागि संघले नेपाल सरकारलाई कम्तिमा रु १ करोडको सहयोग गर्ने प्रतिवद्धता गरि सकेको छ भने बिभिन्न मुलुकहरुवाट स्वास्थ्य परिक्षण उपकरण र स्वास्थकर्मीहरुका लागि सुक्षाका सामाग्री खरिद गरी नेपलमा उपलव्ध गराउने प्रकृया शुरु भैसकेको छ ।

यसै प्रसङ्गमा नेपाल सरकारले चिनबाट स्वास्थ्य परिक्षण उपकरण र सुरक्षा सामग्रीहरुको खरिद गर्दाको प्रकृया र खरिद मुल्यका वारेमा संघका अन्तर्राष्ट्रिय समन्वय परिषदका एक सदस्यले टेलिभिजन कार्यक्रममा दिएको सार्वजनिक अभिव्यक्ति प्रति हाम्रो ध्यानाकर्षण भएको छ । निजले दिएको अभिव्यक्ति संघको आधिकारिक धारणा नभएको प्रष्ट पार्न चाहान्छौं । संघले तोकेको आधिकारीक व्यक्ति बाहेक अन्य व्यक्तिले दिएको अभिव्यक्ति संघको आधिकारिक धारणा हुन नसक्ने आमसंचार माध्यमलाई समेत जानकारी गराउँदछौं ।

खरिद प्रकृयाका बिषयमा कुनै कमिजोरी भए यसको छानबिन गर्ने जिम्मेवारी राज्यको सम्बन्धित निकायको हो । यो आपतकालिन अवस्थामा देश विदेशमा बस्ने सबै नेपालीहरुलाई यस महाप्रकोप विरुद्ध संपुर्ण मानवजाति संग एकजुट भएर लड्न अनुरोध गर्दछौँ ।

डिबि क्षेत्री

प्रवक्ता,

गैरआवासीय नेपाली संघ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here