एन आर एन ए ११ औँ युरोप क्षेत्रीय बैठक तथा महिला सम्मेलन – उपलब्धि र कमजोरीहरु

संविधानमा उल्लेखित भए अनुरुप छिट्टैनै एक कानून बनाई गैरआवासीय नेपालीलाई दोहोरो नागरिकता प्रदान गर्न सरकारसँग माग गर्ने एवं विदेशमा बसेर नेपालीले आर्जन गरेको ज्ञान, सीप र प्रविधिलाई नेपालमा भित्र्याउने प्रतिबद्धताका साथ गैरआवासीय नेपाली संघ ११ औँ युरोप क्षेत्रीय बैठक तथा महिला सम्मेलन सोमबार लक्जेम्बर्गमा सम्पन्न भएको छ ।

नेपाल सरकारका परराष्ट्रमन्त्री माननीय प्रदिप ज्ञवाली, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, लक्जेम्बर्ग सरकारका शिक्षा, युवा तथा बालबालिका मन्त्री कलाउडे मेइशले, संघीय संसदका माननीय सांसदद्वय रामकुमारी झाक्री र डा. सूर्य पाठक, पूर्व मन्त्री हिसिला यमी, बेल्जियम नेदरल्याण्ड र लग्जेम्बर्गका लागि नेपाली राजदुत महामहिम लोक बहारदुर थापा, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, संरक्षक जीवा लामिछाने, संरक्षक रामप्रताप थापा, अन्तराष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु, एसिया, अमेरिका, मध्यपूर्व र युरोपका २८ देशबाट करिब चार सय प्रतिनिधिहरुको उपस्थिति र युरोप संयोजक शिब कुमार बरुवालको संयोजकत्वमा सम्पन्न भयो । बैठकको सफलताका लागि लग्जेम्बर्गका प्रधानमन्त्री जाभियर बेटेलले भिडियो सन्देश तथा प्रमुख संरक्षक डा उपेन्द्र महतोले लिखित सन्देश पठाउनु भएको थियो ।

दुई दिनसम्म ( जुलाई २९ र ३०) चलेको बैठकले समेत १४ बुँदे लक्जेम्बर्ग घोषणापत्र जारी गरेको छ ।

एकल नेपाली महिलाबाट जन्मिएका बच्चाहरूलाई नेपाली नागरिकता दिने व्यवस्थाबारे कानुनी अन्योलता रहेकोले सो प्रति सरकारको ध्यानाकर्षण गराउन कार्यक्रममा उपस्थित परराष्ट्रमन्त्री प्रदिप ज्ञावाली संग माग गरिएको थियो ।  नेपाल सरकारको सहकार्यमा आगामी अक्टोबर १२–१४ काठमाडौंमा आयोजना गर्ने पहिलो विश्व विज्ञ सम्मेलनको पूर्वतयारीको लागि काम भैरहेको बैठकले जानकारी दिएको छ ।

एन आर एन ले  सरकारले हालै वार्षिक २० लाख पर्यटक भित्र्याउने योजनासहित घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ कार्यक्रमप्रति ऐक्यबद्धता जनाउँदै सो अभियानलाई सफल पर्न एक भिडियो प्रतिस्प्रधा आयोजना गरेको थियो । क्षेत्रीय बैठकमा भोटको आधारमा बिजेताहरु छानिएका थिए ।

युरोप क्षेत्रमा बढ्दै गएको मानव तस्करी रोक्न सरकारसँग सहकार्य गरेर अघि बढ्नु पर्ने कुरा जोडदारका साथ उठेको थियो ।   

एनआरएनएद्वारा सञ्चालित लाप्राक नमूना बस्ती, कार्यालय भवन, शंखमूल पार्क, उज्यालो नेपाल, पत्रकार महासंघ केन्द्रीय कार्यालयमा पुस्तकालय स्थापना, १० अर्ब लगानी सुनिश्चित प्रतिबद्धता लगायतका परियोजनाहरू आगामी अक्टोबरभित्र सम्पन्न गर्ने प्रतिवद्धता गरिएको थियो।  

आगामी अक्टोबर १२–१४ काठमाडौंमा आयोजना गर्ने पहिलो विश्व विज्ञ सम्मेलनमा सीप, ज्ञान र टेक्नोलोजी हस्तान्तरण छलफल सत्रको आयोजना गर्ने त्यसलाई अत्याधिक फलदायी बनाउन सल्लाह सुझावको माग गरिएको थियो  ।

कार्यक्रम निर्धारित समय–तालिका अनुसार चल्न नसक्दा धेरै महत्वपुर्ण छलफलहरूलाई मिचिदिएको थियो बिशेष गरि महिला फोरम र युवा फोरमका कार्यक्रमहरु छुट्टा छुट्टै र छोटो तरिकाले गर्नुपर्ने अवस्था आएको थियो।  लगानीमा भन्दा कार्यक्रम वा बैठक आयोजनाको खर्च बढी देखिनु एनआरएनएहरूको अर्को दुःखद पक्ष हो ।

बैठकका  बारेमा राम्रा नराम्रा मिश्रीत प्रतिक्रिया आएतापनि आयोजकहरु बिशेष गरि लक्जम्बर्गबसी नेपालीहरु ले देखाएको आत्मीयता,  खटिनुहुने लक्जम्बर्गबसी भाइबैनीहरुले सबैको मन जितेको देखियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here