खाली हुँदै युरोपका सुपरमार्केट, खाधान्न र दैनिक उपभोग्य सामानहरुको तत्काल अभाव भने नहुने

कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएपछि युरोपियनहरुमा ठुलो त्रास फैलिएको छ। संक्रमण फैलिएका मुलुकहरुमा मानिसहरुले आफ्नो खाद्यान्न सामाग्री लगायत दैनिक उपभोग्य सामानहरु स्टोर गर्न थालेका छन् । उनीहरुले बजारमा भएको सामान घरमा स्टोर गर्न थालेपछि बजार रित्तिन थालेको प्रत्यक्ष देखिन थालेको छ । सामाजिक संजालमा सुपरमार्केटको भिड र खाली गल्लीहरुको फोटो भिडियोहरु भाइरल बनेका छन्। जसले गर्दा आम सर्वसाधारणहरुले अत्यधिक मात्रामा खरिद गरिरहेका छन्।

बिशेष गरि चामल, पिठो, चाउचाउ, बिस्कुट, ट्वाइलेट पेपर जस्ता सामान्य तर अत्यावास्यक चिजहरुको अत्याधिक मात्रामा खरिद हुँदा अभाव उत्पन्न हुनसक्ने अनुमान गरिन्छ। केहिदिन यता बजारमा औषधि, मास्क र हाइड्रोअल्कोलिक जेलको कमी हुनसक्ने चिन्ता आम सर्वसाधारणमा छ। तर युरोपका संचार माध्यमहरुले यस्तो अभाव नहुने बताउदै आइरहेका छन्। धेरै ग्राहकहरुले एकैपटक ठुलोमात्रामा खरिद गर्दा तख्थाहरु खाली देखिनु स्वाभाविक भएको त्यहाँका कामदारहरु बताउदछ्न। युरोपमा खाद्यान्न सामाग्रीमा कालोबजारी हुदैन र सामानको हाहाकार भने अहिलेसम्म भएको छैन। युरोपमा अहिले मेडिकल मास्क र हाइड्रोअल्कोलिक जेलको भने अभाव सुरु भएको छ । कतिले अनलाइन बाट भएपनि मास्कहरु खरिद गरि स्टोर गरिरहेका छन। मानिसहरुले खानेकुराका साथसाथै खुद्रा पैसापनि जम्मा गरि राख्न सुरु गरेका छन। फ्रान्सका प्रधानमन्त्रीले सरकारले भने कुनै पनि हालतमा अभावको स्थिति सृजना नहुने भएकोले भयभित नहुन आग्रह गरेका छन। त्यस्तै जर्मनी र स्पेनका मन्त्रिहरुले नागरिकहरु लाइ विस्वस्थ पर्ने प्रयास गरिरहेका छन्।

इटाली

इटालीमा औसधी र खानेकुरा पसल बाहेक सबै ठप्प पारिएको छ। मनिसहरु आवत जावत गर्न अनुमति लिनुपर्ने छ। सबै नागरिकहरुलाइ सेल्फ क्वारन्टाइनमा बस्न आदेश दिइएको छ। युरोपमै सबै भन्दा क्षति लगभग १८००० लाइ कोरोना लागेको र १२८० भन्दा बढीको मृत्यु भएको खबर छ। इटालीमा हिजो एकै दिन २५० जनाकाे मृत्यु भएको थियो। इटाली बस्ने नवलपुरका रुपन श्रेष्ठका अनुसार “एउटा शहर बाट अर्कोमा जान पनि स्थानीय प्रहरी–प्रशासनको लिखित अनुमति लिनुपर्छ। हामी साथीहरु सबै आफ्नै घरमा क्वारेन्टाइनमा बसेका छौं।” मार्च २५ सम्म रोमसहितका सहरमा पनि आवतजावत र अनावश्यक हिँडडुलमा प्रतिबन्ध लगाइएको छ । इटालीमा १६०० सय देखि २५०० र स्विट्जरल्यान्डमा करिब ४ सय नेपाली छन्। अहिले सम्म कुनै नेपाली कोरोनाको कारण अस्पताल भर्ना भएको खबर आएको छैन।

स्पेन

स्पेनमा २ हप्ताको लागि शिक्षण सँस्थाहरु बन्द गरिएको छ, खेल प्रतियोगिताहरु रंगशालामा दर्शक बिना नै हुने छन्। १००० जना भन्दा बढी जम्मा हुने ठाउँहरु बन्द गरिएको छ। स्पेनमा ५००० भन्दा बढीलाइ भाइरस लागेको पुस्टि भएको छ भने करिब १३० जनाको मृत्यु भएको छ। स्पेनमा करिब ५ हजार नेपालीको बसोबास रहेको बताइन्छ। हालसम्म कोहि नेपालीलाइ कोरोना लागेको खबर प्राप्त भएको छैन। नेपालीहरु सुरक्षित र सावधान अवस्थामा रहेको त्यहाँका नेपालीहरुले जानकारी दिएका छन्।

फ्रान्स

कोरोना भाईरस फैलावट कम गर्न सोमबारदेखि फ्रान्सका सबै शैक्षिक संस्था र शिशु सुधार केन्द्रहरु बन्द गरिने भएको छ । त्यस्तै  शारिरीक रुपले कमजोर र ७० बर्ष भन्दा माथिकालाई बाहिर ननिस्कन अनुरोध गरिएको छ। शुक्रवार बेलुका सम्म फ्रान्समा करिब ३८०० संक्रमित र कम्तिमा ८० जनाको मृत्यु भएको छ। फ्रान्समा करिब ४५०० नेपालीहरुको बसोबास भएको अनुमान गरिन्छ र हालसम्म कोहि नेपाली भाइरसको कारण अस्पताल भर्ना भएको दुखद खबर आएको छैन। यसैबीच फ्रान्समा यहि आइतबार स्थानीय तहको चुनाव हुने भएको छ। चुनावमा भोट दिन मतदाताहरुलाइ हाइड्रोअल्कोलिक जेल, मास्क र पन्जाको ब्यबस्था गरिएको छ।  मानिसहरुमा फैलिएको त्रासले गर्दा इतिहासमै कम संख्यामा भोट खस्ने अनुमान गरिएको छ। चुनाव प्रचार प्रसार भने ठप्प छ।  सरकारले १०० जना भन्दा बढीको संख्यामा जमघट नहुन आदेश दिएको छ।

बेल्जियम

बेल्जियममा अहिलेसम्म करिव ५६० जनामा कोरोना भाइरस देखिएको छ भने कम्तिमा ३ जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा तिनै जना ७० बर्ष माथिका बृद्वा रहेको जनाइएको छ। बेल्जियम सरकारले यहि १२ मार्चका दिन कोरोना भाइरस फैलिने क्रमलाइ कम गर्न कठोर निर्णयहरु लिएको छ। देशै भरी सम्पूर्ण बिधालयहरु बन्द गरिएका छन्। कम्तिमा ३ अप्रिल सम्मको लागि सम्पूर्ण रेस्टुरेन्ट बारहरु बन्द गरिने भएको छ। औषधि र खानेकुरा पसल बाहेक सपूर्ण सुपर मार्केटहरु बन्द छन्। सार्वजनिक यातायातका साधन प्रयोग नगर्न आग्रह गरिएको छ। ठुला कम्पनिहरुका कामदारलाइ घरमै बसेर काम गर्न प्रोत्साहन गरिने भएको छ। बेल्जियममा करिब ६ देखि ८ हजार सम्म नेपालीहरु बसोबास गर्ने अनुमान गरिन्छ ।

जर्मनी

केहिदिन अघि जर्मनीका चान्‍सलर एन्जेला मर्केलले जर्मनीमा करिब ७० प्रतिशत मानिसलाई कोरोना संक्रमण हुनसक्ने बताएकी थिइन्।जर्मनीका अहिले स्वास्थ्य परिक्षणमा उच्च सतर्कता अपनाइएको छ। सिमानाकाहरुमा स्वस्थ्य परिक्षण गरेर मात्र छिर्न दिइएको छ। बिधालय र धेरै मानिसहरु जम्मा हुने ठाउँहरु बन्द गरिएको छ। सरकारले १०० जना भन्दा बढीको संख्यामा जमघट नहुन आदेश दिएको छ। अहिले सम्म जर्मनीमा ३७०० जनामा भाइरस देखिएको छ भने कम्तिमा ८ जनाको मृत्यु भएको छ।

खुला सिमाना रहेका युरोपका केहि देशहरुले सिमानानै बन्द गरेका छन्। हालसम्म स्लोभाकिया, चेक रिपब्लिक, युक्रेन र डेनमार्कले सिमाना बन्द गर्ने निर्णय गरेका छन्। युरोपियन युनियनको असहमति हुँदाहुदै अन्य केहि देशहरुले पनि सिमाना बन्द गर्ने बिषयमा छलफल गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here