कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पशुपति शमसेर राणा र डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा रहेको राप्रपा संयुक्तबीच शनिबार बेलुका पार्टी एकीकरण भएको छ।
थापा, राणा र लोहनीद्वारा हस्ताक्षरित एकीकरणसम्बन्धी आधारपत्रमा तीनै जना अध्यक्ष रहने गरी पार्टी एकीकरण गरिएको छ भने पार्टीको चुनाव चिन्ह पछि टुंगो लगाउने निर्णय भएको छ । शनिबार गरिएको १० बुँदे सहमतिका आधारमा पार्टी एकताको औपचारिक घोषणा फागुन २८ गते गर्ने कमल थापाले सामाजिक संजालमा बताएका छन्।
उनीहरुबीच राजसंस्था सहितको प्रजातन्त्र र हिन्दुराष्ट्र २ प्रमुख एजेन्डा सहित १० बुँदे सहमति भएको हो। जबकी राणा नेतृत्वको राप्रपाले आफूलाई राजाविहीन गणतन्त्रको पक्षमा उभ्याउँदै आएको थियो । तीनैजना अध्यक्षको हैसियत र मर्यादाक्रम समान हुने र कार्यसमितिको बैठकको अध्यक्षता आलोपालो गर्ने सहमति गरिएको उल्लेख छ । अघिल्लो निर्वाचनमा कमल थापा नेतृत्वको राप्रपा प्रतक्ष्य तर्फ जम्मा १ सिटमा सिमित भएको थियो।