ओली–मोदीले स्वीच थिचेर गरे पेट्रोलियम पाइपलाइन उद्घाटन, दक्षिण एशियाकै पहिलो

Photo Credit : कृष्ण पौड्याल

पाइपबाट तेल खस्न सुरु 

दक्षिण एशियामै पहिलो ‘क्रस बोर्डर पेट्रोलियम पाइपलाइन’ सिंहदरबार र दिल्लीबाट एकसाथ उदघाटन भएको छ । दुवै देशका प्रधानमन्त्रीहरुले भिडियो कन्फेरेन्स गर्दै स्विच थिचेर पाइप बाट तेल पठाउने र तेल झार्ने गरेका थिए।  नेपाल भारत क्रस बोर्डर पेट्रोलियम पाइपलाइन उद्घाटन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘कीर्तिमानी छिटो समयमा’ यो परियोजना सम्पन्न भएको भन्दै खुशी व्यक्त गरे । ३० महिना लाग्ने अनुमान गरिएको पाइपलाइन निर्माण १५ महिनामै पूरा भएको छ ।

भारतको मोतीहारीबाट नेपालको अमलेखगञ्जसम्म ६९ किलोमिटर दुरीमा रहेको यो पेट्रोलियम पाइप लाइन दक्षिण एशियाकै पहिलो क्रस बोर्डर पाइपलाइन हो ।

प्रति घण्टा २९४ किलोलिटर इन्धन ल्याउन सकिने यो पाइपलाइनको क्षमता २० लाख टन प्रतिवर्ष तेल आयात गर्न सक्ने रहेको छ।  १६ हजार किलोलिटर भण्डारण गर्न सकिने गरी ४ वटा ट्याङ्क अमलेखगन्जमा निर्माण भएका छन् ।  आयोजना सम्पन्न भएसंगै निगमको वार्षिक एक अर्ब रुपैयाँ ढुवानी खर्च जोगिने निगमले दावी गरेको छ  । आयोजनाको कुल लगानी ३५० करोड भारु रहेको छ । नेपाल सरकारले केही मुआब्जामा खर्च गरेको छ । पेट्रोलियम पाइपलाइन निर्माण र अमलेखगन्ज डिपो स्तरीकरणको सम्पूर्ण खर्च भारतीय आयल निगमले ब्यहोरेको थियो।

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । मंगलबारबाट पाइपलाइन मार्फत पेट्रोलियम पदार्थ आउने भएपछि निगमले मुल्य घटाइएको हो । एक सय नौ रुपैयाँ प्रति लिटरमा पाइने प्रेट्रोल, ९७ रूपैयाँ प्रति लिटरमा पाइने गरेको डिजेल र मट्टितेलमा दुई रूपैयाँको दरको मुल्य घटेको निगमले जनाएको छ ।

मोदी – ओली द्वारा खुसि व्यक्त 

नेपाल भारत अन्तर्देशीय पेट्रोलियम पाइपलाइन सुरु भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समयमै परियोजना सम्पन्न भएकोमाखुसि व्यक्त गरेका छन् । स्वीच थिचेर उद्घाटनपछि उनले ट्वीटर मार्फत यसलाई ठूलो उपलब्धि र दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउएकाे उल्लेख गरेका छन्।  साथै उनले नेपाल भारत सहयोगका परियोजनाहरुको काम सन्तोषजनक रुपमा अघि बढेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षीसँग हातेमालो गर्न आफू सधैं तयार रहेको बताए । भारतसँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिएको बताउदै उनले यो परियोजनाले सडकमा सवारी चाप कम, समय बचत गर्नुका साथै यस्तो पाइपलाइन नेपालभर विस्तार गर्ने ढोका खोलेको बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here