विप्लवको बन्द, जनजीवन प्रभावित – आतंक फैलाएर मात्र राजनीतिक उद्देश्य प्राप्त हुदैन : प्रचण्ड

सन्दिप कुमार, काठमाडौं। आफ्नो पार्टीका कार्यकर्ता मारिएको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार नेपाल ठप्प पारेको छ। आइतबारदेखि देशका विभिन्न ठाउँमा बम तथा नक्कली बम भेटिन थालेपछि स्थानीय त्रसित भएका छन्। साथै विप्लव समूहले विभिन्न ठाउँमा विस्फोट गराउनुका साथै अहिले सम्म ५ वटा सवारी साधनमा आगजनी गरेका छन्। बन्दका कारण लामो तथा छोटो दूरीका यातायात संचालनमा आएका छैनन्। अधिकांश शिक्षण संस्था तथा उद्योग कलकारखाना ठप्प भएका छन्।

हिजोमात्र राजधानीमा भएका बिभिन्न बम बिस्फाेटका घटनामा ४ जनाको मृत्यु र ८ जना घाइते भएका थिए, हिजै कोटेश्वरबाट सात जनालाई प्रहरीले पक्राउ गरेको थियो।

अहिले सम्मको विवरण अनुसार नुवाकोट विदुर नगरपालिका- ५ पिपलटार र वेलकोटगढी नपा-५ कोल्पुटारमा दुइ ओटा बम फेला परेको छ। सुरक्षाकर्मीले दुबै बम निष्क्रिय पारेको प्रहरीले जनाएको छ। पासाङल्हामु मार्गको त्रिशूली-ककनी तथा गल्छी-देवीघाट सडकखण्डको बीचमा पनि बम फेला परेको छ। दुवै बम प्रहरीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

मोरङको बुढीगंगा गाउँपालिका-१ र सुन्दरहरैंचा नगरपालिका-७ मा बिहान फेला परेको अज्ञात वस्तु प्रेसर कुकर बम  भएको पुष्टि भएको छ। दुवै बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ। त्यस्तै ललितपुरका दुई ठाउँमा राखिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। महोत्तरीको बर्दिबास नगरपालिका कार्यालय अगाडी भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ। सिन्धुलीको दुधौली नगरपालिका ९८ स्थित खोरभञ्याङमा नक्कली बम राखेर सडक अबरुद्द परिएको प्रहरीले जनाएको छ। त्यस्तै इटहरी २० पानीपियामा भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।

पृथ्वीराजमार्ग अन्तरगत धादिङका २ ठाउँहरुमा बम भेटिएको छ। धादिङको महादेववेशी र नौविसेमा बम भेटिएपछि नेपाली सेनाको टोलीले निस्क्रिय बनाएको छ। मोरङको मिक्लाजुङ गाउँपालिकास्थित उर्लाबारी–मधुमल्ला सडकखण्डमा सोमबार शंकास्पद वस्तु भेटिएको छ।

गृहमन्त्री रामबहादुर थापाले सोमबार संसदमा बोल्दै सरकार “यो समूहलाई मुल धारमा ल्याउन र उनीहरुको गतिविधि नियन्त्रण गर्न प्रतिबद्ध भएको बताएका छन। उनले बम बिस्फोटमा मृत्यु भएका र पक्राउ परेकाहरुलाई ‘गैर नागरिक’ भनेर गरेको टिप्पणीमा भने सांसदहरुले आपत्ति जनाएका थिए ।

त्यस्तै सत्तारुढ नेकपाका एक अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बम आतंक फैलाएर मात्रै राजनीतिक उद्देश्य प्राप्त नहुने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसित सोमबार कुरा गर्दै उनले एक दुईवटा बम विष्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर सोच्न नहुने पनि उल्लेख गरे। फेरि पनि हिंसाका घटना भइरहेकोतर्फ ध्यानाकर्षण गराउँदा दाहालले भने, ‘बम आतंक फैलाएर मात्र राजनीतिक उद्देश्य प्राप्त हुन्छ भन्ने कुरा ठान्नु विल्कुल सही छैन।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here