बार्सिलोनाविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा

इंग्लिस क्लब लिभरपुल युरोपकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलको निर्णायक खेलमा स्पेनिस क्लब बार्सिलोनाविरुद्ध उत्कृष्ट पुनरागमन (Remontada) गर्दै लिभरपुलले अन्तिम दुईमा स्थान बनाएको हो ।

लिभरपुलले ४–० गोल अन्तरको फराकिलो जित दर्ता गर्दै फाइनलमा स्थान बनायो । उसले बार्सिलोनाविरुद्ध समग्रमा ४–३ को जित हाँसिल गरेको हो।

यसअघिको पहिलो चरणको खेलमा बार्सिलोनासँग ३–० गोल अन्तरको हार ब्यहोरेको कारण पनि लिभरपुल दबाबमा थियो । बार्सिलोनाको मैदानमा भएको अघिल्लो खेलमा कुनै गोल गर्न नसकी हारेकाले पनि ऊमाथि आफ्नो घरलु मैदानमा शानदार कमब्याक गर्नुपर्ने दबाब थियो । निकै महत्त्वपूर्ण खेलमा दबाबमा रहेको लिभरपुलले उत्कृष्ट पुनरागमन गरेरै छोड्यो । पहिलो चरणको खेल पछि तथ्यांक अनुसार लिभरपुल फाइनलमा प्रवेश गर्ने सम्भावना ६ प्रतिशत मात्र भनिएको थियो। खेलमा कहिलेकाहिँ प्रतिशतको केहि लाग्दैन। जर्जिनियो विज्नाडम र डाइभक ओरिजीले समान दुई–दुई गोल गरेर बार्सिलोनालाइ घर फर्काइदिएका छन्।

लिभरपुल लगातार दोस्रो पटक फाइनल पुगेको हो । यसअघि २०१७–१८ को सिजनमा ऊ स्पेनिस क्लब रियल मड्रिडसँगै पराजित हुँदै उपाधिबाट बिमुख भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here