राजेन्द्र महतो आक्रोशित: सरकारले भाङ खाएर नीति तथा कार्यक्रम लेखेको हो ?

राष्ट्रिय जनता पार्टी (राजपा)का नेता राजेन्द्र महतोले सरकारको नीति तथा कार्यक्रम भाङ खाएर लेखेको हो भन्ने प्रश्न गरेका छन् ।साथै उनले संविधानमा विमति नरहेको भन्ने सरकारको भनाइ प्रति आपत्ति जनाएका छन। संविधानको सर्वस्वीकार्यता र स्वामित्वमा विमती नरहेको भन्दै सरकारले झुटो बोलेको उनको दाबी छ ।

उनले संविधानप्रति आफूहरुको गम्भीर विमति रहेको उल्लेख गर्दै भने,  ‘किन विमति छैन? यो कहिलेदेखि विमति भएन? कसले लेख्योे नीति कार्यक्रम? आधा निन्द्रामा लेख्या हो? पचासौ पटक यो हाउसमा हामीले नै विमति देखाएको हो।’

‘यसबाट संविधान नै संशोधन नगर्ने मनस्थितिका सरकार छ भन्ने सन्देश दिइएको छ। त्यो हामीलाई स्वीकार्य छैन,’ उनले भने, ‘भाङ खाएर नीति तथा कार्यक्रम लेखेको हो र?’

उनले संविधानलाई सर्वस्वीकार्य रहेको भन्दै सरकारले संशोधनलाई अस्वीकार गर्न नसक्ने दाबी गरे।  उनले भने, ‘जब–जब बाइबल, कुरान, गीता, महाभारत संविधानलाई बनाइन्छ, त्यो संविधान गइजान्छ। बाईबाई भइजान्छ।’ उनले सरकारले जनतालाई गुमराहमा राख्ने काम गरेको आरोप लगाए।

‘नीति तथा कार्यक्रम झुटको खेती जस्तै छ। सफेद झुट जस्तै,’ उनले भने, ‘जनताको अधिकार माथि दिन दहाडै डकैती गर्ने, जनतालाई ढांट्ने, जनतालाई गुमराह गर्ने?’ उनले शाही सम्बोधनको शैलीमा सरकारको नीति तथा कार्यक्रम आएको टिप्पणी गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here