एनआरएनए पोर्चुगलको दोस्रो नेपाल महोत्सव कार्यक्रम लिस्बनमा सम्पन्न

एनआरएनए पोर्तुगलले यहि १४ अप्रिलका दिन आयोजना गरेको दोश्रो नेपाल महोत्सव लिस्बनमा सम्पन्न भएको छ । नेपाली नयाँबर्ष २०७६ को अवसर पारेर नगरपालिका संग समन्वय गर्दै लिस्बनको बीचमा रहेको अलमेदा पार्कमा नेपाली र पोर्चुगिस समेतको उपस्थितिमा दिउँसो ३:३० बजे महोत्सव औपचारिक रूपमा शुरु भएको थियोे । एनआरएनए पोर्तुगल अध्यक्ष कुबेर कार्कीको सभापतित्वमा सम्पन्न समारोहलाई महासचिव निराजन सुवेदीले संचालन गरेका थिए भने वरिष्ठ उपाध्यक्ष तिलक गैरले स्वागत मन्तव्य दिएका थिए । मेलाको उद्घाटन लिस्बनकालागि अवैतनिक नेपाली बाणिज्यदुत मकर हमालले गरेका थिए ।

महोत्सवको विशेष समारोहमा भाग लिन एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुमार पन्त, एनआरएनए युरोप क्षेत्रीय समितिका संयोजक शिवकुमार बरुवाल, एनआरएनए बेल्जियमका अध्यक्ष लोकप्रसाद दाहाल विशेष अतिथिको रूपमा उपस्थित थिए । महोत्सवमा अतिथिहरुका साथै लिस्बनकालागि अवैतनिक नेपाली बाणिज्यदुत मकर हमाल, नेपाली पर्यटन दुत रमेशकुमार गुरुङ, एनआरएनएन पोर्तुगलका संस्थापक अध्यक्ष पुर्ण हमाल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

समारोहमा पोर्तुगलस्थित नेपाली संघ-संस्थाका प्रतिनिधिहरु, समाजका विशिष्ट ब्यक्तिहरु, पोर्तुगिस नागरिकहरुको उपस्थिति रहेको थियो। तर नेपाल आदिवासी जनजाति महासङ्घ, पोर्चुगलले कार्यक्रम बहिस्कार गरि छुट्टै बार्बेक्यु तथा संस्कृतिक कार्यक्रम आयोजना गरेको थियो। महासङ्घले महोत्सवका आयोजकहरुले नेपालका आदिवासीहरूको समतामूलक सहभागितालाई अस्वीकार गरेका कारण छुट्टै कार्यक्रमको आयोजना गरेको बताएका थिए।

महोत्सवमा औपचारिक कार्यक्रम पश्चात साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । झन्डै चार घन्टा चलेको साँस्कृतिक कार्यक्रममा दुई दर्जन जति गीत र नृत्यहरु प्रस्तुत गरिएको थियो । नेपाल महोत्सवकै अवसर पारेर एनआरएनए पोर्तुगलले युरोप स्तरीय फुटबलको पनि आयोजना गरेको थियो । ८ वटा टीम सहभागी अत्यन्त रोचक र प्रतिस्पर्धात्मक खेलमा एनआरएनए बेल्जियम फुटबल टीमले प्रथम भइ २५ सय युरो नगद र ट्रफी हात पारेको थियो।

महोत्सवमा १२ वटा विशेष स्टलहरु राखिएका थिए, जसमा नेपाली पहिचान र नेपाललाई प्रबर्द्धन गर्ने सामाग्रीहरु, नेपाली खाना र स्वास्थ शिविर आदि राखिएको थियोे ।

कार्यक्रमको अर्को आकर्षण पन्चेबाजा पनि रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here