गैरआवासीय नेपाली नागरिकता सम्बन्धमा आएका समाचारप्रति एनआरएनएको ध्यानाकर्षण [बिज्ञप्ति]

प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिमा विचाराधिन गैरआवासीय नेपाली नागरिकता विधेयकको बिषयमा बिभिन्न संचार माध्यममा आएका समाचारहरुकै आधारमा मात्र निष्कर्षमा नपुग्न र संघको आधिकारीक धारणा पर्खन आग्रह गर्दै एनआरएनए ले आजै बिज्ञप्ति मार्फत गैरआवासीय नेपालीहरुमा अनुरोध गरेको छ।

प्रेस विज्ञप्ति

गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने सम्बन्धमा संचार माध्यममा आएका खबरमा यस संघको गंभिर ध्यानाकर्षण भएको छ र हामी निम्न कुरा प्रष्ट पार्न चाहन्छौं ।

गैरआवासीय नेपाली संघले एक पटकको नेपाली सदाको नेपाली (Once a Nepali, always a Nepali) भन्ने मूल भावनालाई आत्मसाथ गर्दै विदेशमा गएका र विविध कारणले विदेशी मुलुकको नागरिकता लिएका नेपाली मूलका व्यक्तिहरुलाई नेपालसंग आबद्ध राख्न नेपाली नागरिकताको निरन्तरताको अभियान चलाउँदै आएको हो । गैरआवासीय नेपाली संघको प्रयासको परिणाम स्वरुप गैरआवासीय नेपालीहरुलाई नेपालमा कानुनी मान्यता दिने गैरआवासीय नेपाली सम्बन्धी ऐन आएको थियो । संविधान निर्माणको बेलामा पनि संघले नेपालको नागरिकताको निरन्तरताको लागि पहल गरेको हो र संविधान सभाले गैरआवासीय नेपाली नागरिकताको प्रावधान सहितको संविधान बनाएकोमा संघले सरकारसंविधान सभा लगायत सबै पक्षलाई आभार प्रकट गरेको हो । संविधानको प्रावधान लागु गर्न कानुन निर्माण गर्ने प्रकृयामा नेपाली नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकको सुक्ष्म अध्ययन गरी संघको तर्फबाट पनि सुझावहरु पेश गरिएको थियो । यस विधेयकले नागरिकता जस्तो संवेदनशील विषयलाई समेटेकोले यसमा बृहत्तर छलफल र चासो हुनुलाई स्वभाविक ठानेका छौं । हाल सम्म सो विधेयक  संसदको तल्लो सदन प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिमा विचाराधिन छ र संघ संसदको संबन्धित समितिका सभापतिज्यू संग निरन्तर सम्पर्कमा रहेको जानकारी गराउँदछौं । अझै पनि समितिको प्रतिवेदन तयार भईनसकेको र समितिमा भएको विचार विमर्श एवं छलफलमा कुरा उठेकै भरमा कुनै निष्कर्षमा नपुग्न समस्त गैरआवासीय नेपाली समक्ष हार्दिक अनुरोध गर्दछौं । संघको लक्ष्य संपूर्ण अधिकार सहितको नेपाली नागरिकताको निरन्तरता नै हो ।

अहिलेको नेपालको कानुनी व्यवस्थामा विदेशी मुलुकको नागरिकता लिए पछि नेपालको नागरिकता स्वतः खारेज हुने व्यवस्था छ । गैरआवासीय नेपाली नागरिकताको व्यवस्था भएपछि विदेशी नागरिकता लिएको व्यक्तिले पनि गैरआवासीय नेपाली नागरिकको हैसियतमा नेपालमा अन्य नेपाली नागरिकले सरह सम्पत्ति राख्न पाउने, नेपालमा व्यवसाय गर्न पाउने, नेपालको आर्थिक सामाजिक जीवनमा सहभागी हुन पाउने हाम्रो बुझाई हो । तसर्थ संचार माध्यममा आएका कुराहरुकै आधारमै मात्र निष्कर्षमा नपुग्न र संघको आधिकारीक धारणा पर्खन समस्त गैरआवासीय नेपालीहरुमा अनुरोध गर्दछौं । साथै सरकार एवं संसद र विशेष गरी संसदीय समितिसंग नागरिकता संबन्धी ऐनलाई छिटो निर्णयमा पुर्याई सहज रुपमा गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने वातावरण यथाशक्य चाँडो बनाईदिन अनुरोध समेत गर्दछौं ।

भूषण घिमिरे

प्रवक्ता,

गैरआवासीय नेपाली संघअन्तर्राष्ट्रिय समन्वय परिषद ।

१८ मार्च २०१९ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here