झिटीगुन्टा काण्ड: स्वदेश फर्कने नेपालीमाथि गरिएको व्यवहार प्रति एनआरएन को आपत्ति [बिज्ञप्ति सहित]

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट स्वदेश फर्कने नेपालीहरुलाई सास्ती दिइएको भन्दै  गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदले आपत्ति जनाएको छ । 

एनआरएनए अन्तरास्ट्रिय समन्वय परिषदका प्रवक्ता भुषण घिमिरेले संस्थाको तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै विदेशबाट घर फर्कंदा व्यक्तिगत प्रयोजनको लागि लगिएका उपहार तथा जिन्सीजन्य सामानहरु जफत गरिएको प्रति संस्थाको गम्भिर ध्यानाकर्षण भएको भन्दै, रगत पसिना बगाई कमाएर स्वदेश ल्याएको सामान जफत गर्दा आर्थिक नोक्सानीमात्र नभै भावनामा समेत ठेस पुगेको जनाएको छ । 

विमानस्थलको नियमलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बनाउनुपर्ने तथा तोकिएको भन्दा धेरै सामान ल्याएमा सहज रुपमा भन्सार तिरेर लैजाने व्यवस्था गरिदिन पनि परिषदले अनुरोध गरेको छ । 

बिज्ञप्ति :

वैदेशिक रोजगारीबाट फर्कनेहरुलाई भन्सारमा झन्झट कम गरियोस्

विश्वका विभिन्न देशमा श्रम गरेर कमाएको रकमबाट वैदेशिक रोजगारीबाट घर फर्कने क्रममा नेपालीहरुले खरिद गरेर ल्याएका व्यक्तिगत प्रयोजन तथा उपहारका जिन्सी सामानहरु त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा जफत गरिरहेको पछिल्लो घटनाक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

लाखौं नेपालीले रगत पसिना बगाई कमाएर खरिद गरेका सामान तथा उपहारहरु जफत गर्दा सम्बन्धित व्यक्तिको आर्थिक क्षति हुने मात्रै नभई भावनामा पनि ठेस पुगेको छ । रेमिट्यान्स मार्फत मुलुक कै अर्थतन्त्रमा योगदान दिइरहेका श्रमजीवी नेपालीहरुले घरयासी प्रयोगका लागि ल्याउने सामान समेत जफत गरेर आर्थिक र मानसिक यातनाको अनुभव गरिरहनु पर्ने अवस्थाले नेपालको सरकार, विमानस्थलका सम्बन्धित निकाय र त्यहाँ कार्यरत कर्मचारीहरु प्रति समेत नकारात्मक भावना उत्पन्न गरेको हामीले महशुश गरेका छौं ।

झिटीगुन्टा सम्बन्धमा बनेको नियमलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार समय सापेक्ष बनाउनु पर्ने तथा नयां नियम लागु गर्नु भन्दा कम्तिमा ६ महिना अगावै सार्वजनिक रुपमा सूचना दिई कष्टमुक्त बनाउन प्रयास गर्नुपर्ने देखिन्छ । जानअनजान तोकिएको हदसम्मका व्यक्तिगत प्रयोजन एवं परिवारका लागि ल्याइएका सामाग्री बिना झन्झट बिमानस्थलबाट पास गराउने व्यवस्था गर्न र कथमकदाचित तोकिएको भन्दा बढी सामान ल्याएको पाएमा जफत गर्नुको सट्टा सहज रुपमा भन्सार तिरेर छुटाउन पाउने गरी व्यवस्था मिलाउनु उपयुक्त हुने हाम्रो ठम्याइ छ । तोकिएको नियम कानून आवासीय तथा गैरआवासीय हामी सबैले पालना गर्नुपर्छ भन्नेमा दुइमत छैन तर अहिले सम्म कार्यान्वयनमा नरहेको नियम एकैचोटी कडाइका साथ लागू गर्दा प्रवासबाट स्वदेश फर्कने नेपालीहरुले पूर्व सूचना नपाएका कारण नै दुखकष्ट र क्षति ब्यहोर्नु परेको यथार्थता बुझिदिएर तत्काल सोही अनुसार कार्यगरिदिन सरकार र सम्बन्धित निकाय समक्ष गैरआवासीय नेपाली संघ अनुरोध गर्दछ ।

भूषण घिमिरे

प्रवक्ता

गैरआवासीय नेपाली संघ

अन्तर्राष्ट्रिय समन्वय परिषद

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here