यति बेला संघीय संसदमा पेश भएको गैरआवासीय नेपाली नागरिकताबारे विदेशमा बस्ने नेपालीहरुको चासो बढेको छ । यो ऐनमा गरिन लागिएको व्यवस्था बारे गैरआवासीय नेपालीहरुले विभिन्न टिकाटिप्पणी गरेका छन् । यसबारे गैरआवासीय नेपाली संघका पुर्व प्रवक्ता तथा विधान संशोधन समितिका संयोजक डा हेमराज शर्माले यसबारे प्रश्न पार्दै ८ प्रश्नको उत्तर प्रष्ट पारेका छन् । “सरकारले नागरिकता ऐन संशोधन विधेयक संसदमा पेस गरेको पछि धेरै साथीहरुले यस बिषयमा जिज्ञासा राख्नु भएकोले मैले बुझे अनुसार स्पष्ट गर्न चाहान्छु”, सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ।
संसदमा पेश भएको गैरआवासीय नेपाली नागरिकताबारे उनको ८ प्रश्न र उत्तर यस्तो छ :
१) ‘गैरआवासीय नेपाली नागरिकता’ के हो?
वंशज र अंगिकृत नागरिकता जस्तै यो पनि एक प्रकारको नागरिकता नै हो। जसरी अंगिकृत नागरिकलाई वंशजको नागरिक सरहको अधिकार हुदैन (राष्ट्रप्रमुख आदि बन्न नपाउने), त्यसै गरी गैरआवासीय नेपाली नागरिकलाई अन्य दुई प्रकारका नागरिक भन्दा कम अधिकार दिईएको छ। नेपालको संविधानको धारा १४ अनुसार गैरआवासीय नेपाली नागरिकहरुले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने छन्।
२) आर्थिक, समाजिक र सांस्कृतिक अधिकार भनेको कस्तो अधिकार हो?
गैरआवासीय नेपाली संघको बुझाईमा गैरआवासीय नेपाली नागरिकले राजनिति (चुनावमा उम्मेदवार बन्न वा मतदान गर्न पाउने अधिकार) बाहेकका सबै अधिकार आम नेपाली नागरिक सरह उपभोग गर्न पाउछन भन्ने छ। तर यस्तो स्पष्टता अहिले आएको विधेयकमा छैन। संघले यस्तो स्पष्टता ऐन वा नियमावलीमा होस भन्ने चाहन्छ।
३) कस्तो मानिसले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्छ?
विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरीक रही पछि विदेशी मुलको नागरिकता प्राप्त गरेको व्यक्तीले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने छन।
४) विदेशमा जन्मेका तीन पुस्ता पछिका गैरआवासीय नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्छन?
प्रस्तावित विधेयक अनुसार साविकमा वंशज वा जन्मको आधारका नेपाली नागरिकका नाती पुस्तासम्मले मात्र यो नागरिकता प्राप्त गर्न सक्छन। नाती पुस्ता पछिको पुस्तालाई पनि गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गर्ने हो गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छोरा वा छोरीहरुले पनि गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने छन भन्ने व्यवस्था हुनु पर्छ।
५) गैरआवासीय नेपाली नागरिकता कसरी प्राप्त गर्न सकिन्छ?
निम्न कागजाद बुझाएर मन्त्रालयमा निवेदन दिएर गैरआवासीय नागरिकता प्राप्त गर्न सकिने छ। संभवत विदेश स्थित नेपाली राजदुतावासमा पनि नागरिकताको लागी निवेदन दिन पाईने व्यवस्था हुनेछ (विधेयकमा उल्लेख नभए पनि)।
– बाबु वा आमा, बाजे वा बज्यै साविकको नेपाली नागरिक रहेको प्रमाण
– नेपाली नागरिकता लिई परित्याग गरेकोमा त्यसको प्रमाण
– विदेशी मुलुकको नागरिकता भएको प्रमाण
– सार्क मुलुक बाहेकका देशमा बसोबास गरेको प्रमाण
६) गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न ‘नेपाली नागरिकता परित्याग गरेकोको प्रमाण’ बुझाउनु पर्ने व्यवस्था कति उचित छ?
प्रस्तावित विधेयकमा आएको यो व्यवस्था अस्पष्ट छ। यसको आसय संभवत नेपालको साविकको नागरिकता बुझाए पछि वा परित्याग गरे पछि मात्र गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था गर्न खोजिएको हुनु पर्छ। तर नेपालको हालको कानून अनुसार विदेशको नागरिकता लिदा बित्तिकै नेपालको साविकको नागरिकता स्वत रद्द हुन्छ, नागरिकता परित्याग गरि रहनु पर्दैन। तर दोहोरो नागरिकताको व्यवस्था नभएका मुलुकमा सो मुलुकको नागरिकता लिनको लागी भने नेपाली नागरिकता परित्याग गर्नु पर्छ। दोहोरो नागरिकताको व्यवस्था भएको देश (अमेरिका बेलायत लगायत) को नागरिकता लिदा नेपालको नागरिकता परित्याग गर्नु पर्दैन, अत: परित्याग गरेको प्रमाणको कागजाद पनि प्राप्त हुदैन। यी देशहरुको नागरिकता प्राप्त गरेका व्यक्तीहरुले गैरआवासीय नेपाली नागरिकता लिनको लागि नेपालको साविकको नागरिकता बुझाउनु पर्ने वा परित्याग गरेको घोषणा गर्नु पर्ने व्यवस्था गर्न खोजिएको हो भने यो प्रष्ट हुनु जरुरी छ।
७) गैरआवासीय नेपाली नागरिकहरुले नेपाली पासपोर्ट प्राप्त गर्न सक्छ वा सक्दैन वा नागरिकता प्रमाणपत्र कस्तो खालको हुन्छ?
प्रस्तावित विधेयक यी विषयमा मौन छ । गैरआवासीय नेपाली नागरिकले राजनितिक बाहेकका सबै अधिकार प्राप्त गर्ने आसय हो भने आम नेपाली नागरिकले सरह गैरआवासीय नेपालीहरुले पनि नेपालको पासपोर्ट प्राप्त गर्न पाउने छन। उनीहरुले साविको पासपोर्ट प्रयोग गर्न पाउने छन वा नयाँ प्रकारको पासपोर्ट छलफलको बिषय छ। यसै गरी नागरिकता प्रमाणपत्र अन्य नागरिकहरुले पाउने जस्तै हुने र उक्त प्रमाणपत्रमा वंशज, अंगिकृत जस्तै ‘गैरआवासीय नेपाली नागरिकता’ उल्लेख गर्ने (नागरिकताको प्रकारमा) व्यवस्था हुन सके राम्रो। तर यी कुराहरु ऐन अन्तर्गत बन्ने नियमावलीमा आउनेछन।
८) कहिले देखि गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सकिन्छ?
अहिले सरकारले विधेयक संसदमा प्रस्ताव गरेको छ। यो विधेयक विषयगत समितिमा छलफलगरी आवश्यक अनुसार परिमार्जन गरी संसदमा पेश हुनेछ। संसदले अनुमोदन गरे पछि यो ऐन अन्तर्गत नियमावली बन्नेछ र यसलाई क्याबिनेटले पारित गरे पछी मात्र गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने बाटो खुल्नेछ।