काठमाडौं आइपुगे चिनियाँ राष्ट्रपति

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ् नेपालको २ दिने राजकीय भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।  राष्ट्रपति शी चढेको एयर चाइनाको विमान अपराह्न ४ बजेर ४५ मिनेट जाँदा काठमाडौंमा अवतरण गरेको छ ।

राष्ट्रपति शीलाई नेपालस्थित समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रिपरिषद् सदस्यहरु लगायत उच्च पदस्थ अधिकारीहरुले स्वागत गर्दैछन् । उनलाई विमानस्थलमा नेपाली सेनाले २१ तोपको सलामी दिने तय भएको छ । सलामी सकिएपछि राष्ट्रपति शी सिधै सोल्टी होटल प्रस्थान गर्नेछन् ।

छोटो बसाइपछि उनी राष्ट्रपति भण्डारीसँग भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवास पुग्ने कार्यक्रम रहेको सुरक्षा स्रोतले लोकान्तरलाई जानकारी दियो ।

राष्ट्रपति भण्डारीसँग आधा घण्टाको भेटपछि शी पुन: सोल्टी होटल फर्किने छन् । राष्ट्रपति शीको स्वागतका लागि राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रि भोजमा सहभागी हुनुपूर्व उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग छुट्टा–छुट्टै भेटवार्ता गर्नेछन् । उनीहरू दुवैले ७ सात मिनेट समय पाएका छन् ।

त्यसपछि राष्ट्रपति शी डिनरमा सहभागी हुनेछन् । जहाँ १ सय नेपालीसहित २ सय ५० जना पाहुना सहभागी हुनेछन् । रात्रिभोजमा सहभागी हुनेहरूलाई साढे ७ बजेभित्र हलमा पसिसक्न भनिएको छ । रात्रिभोज राति ९ बजेसम्म चल्नेछ ।

राष्ट्रपति शीले भोलि बिहान नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नेछन् । त्यसपछि प्रधानमन्त्री केपी शर्मासँग भेटवार्ता हुनेछ । दुवै भेट २० मिनेटको हुने परराष्ट्र स्रोतले बतायो ।

प्रधामनन्त्रीसँगको भेटपछि नेकपा सचिवालयका सदस्यहरूसँग राष्ट्रपति शीको भेटवार्ता हुनेछ । भेटपछि राष्ट्रपति शीको उपस्थितिमा नेपाल सरकार र चीन सरकारबीच केही सहमतिपत्र हस्तान्तरण गर्ने कार्यक्रम छ । सम्झौतापत्र हस्तान्तरण कार्यक्रम सकिएपछि दिवाभोज गरेर राष्ट्रपति शी दिउँसो १२:५० मा स्वदेश फर्किने कार्यक्रम छ ।

चीनबाट २३ वर्षपछि यो स्तरको भ्रमण हुन लागेको हो। सन् १९९६ मा च्याङ चमिनले नेपालको भ्रमण गरेका थिए। यद्यपि चीनबाट प्रधानमन्त्री र विदेशमन्त्री स्तरमा भने नेपालमा भ्रमण भइरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here