दिलिप भट्टराइ। म्यानचेस्टर सिटीलाई हराउँदै ५७ वर्षपछि टोटनह्याम च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले टोटनह्यामलाई चार तीन गोलले हराएपनि पहिलो लिगमा एक शून्यको हारले सिटीलाई ठूलो नोक्सानी भयो । टोटनह्याम च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको यो दोस्रो पटक हो । गोलको वर्षा भएको खेलको चौथो मिनेटमा नै पउल स्ट्रलिङले गोल गर्दै सिटीलाई अग्रता दिलाए । तर त्यसको तीन मिनेटमा टोटनह्यामले खेल बराबरी गर्यो । १० औं मिनेटमा टोटनह्यामले गोल गर्दै खेलमा अग्रता लियो । उसका लागि दुवै गोल सन ह्युङ मिङले गरेका थिए । तर त्यसको एक मिनेटपछि नै बेर्नान्डो सिल्भाले गोल गर्दै खेललाई दुई–दुईको अवस्थामा पुर्याए ।
२१ औं मिनेटमा सिटीले फेरि खेलमा अग्रता बनायो । उसका लागि पउलले नै गोल गरे । पहिलो हाफ तीन दुईको अवस्थामा सकिएको खेलको ५९ औं मिनेटमा सर्जियो अगुइरोले गोल गर्दै सिटीलाई चार दुईको अवस्थामा पुर्याए । तर ७३ औं मिनेटमा लोरेन्टले टोटनह्यामका लागि गोल गरेपछि खेल चार तीनको अवस्थामा पुग्यो । त्यसपछि दुवै टिमबाट थप गोल भएन र टोटनह्यामले पहिलो लेगमा हात पारेको एक शून्यको जित उसलाई सेमिफाइनलमा पुग्न भाइटल बन्यो । समग्रमा खेल चार चारको अवस्थामा पुगेपछि अवे गोलमा टोटनह्यामले च्याम्पियन्स लिगमा ऐतिहासिक सफलता हात पार्यो । टोटनह्याम यसअघि १९६१ र ६२ को सिजनमा सेमिफाइनलमा पुगेको थियो ।