Site icon ParisNepal.com – Nepali News From France

फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशवराज झाको हत्या अनुसन्धानका क्रममा पक्राउ परेका तीन जना धरौटीमा रिहा

फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशवराज झाको हत्या अनुसन्धानका क्रममा पक्राउ परेका तीन कामदार धरौटीमा रिहा भएका छन् । घटनामा संलग्नता आशंकामा महानगरीय प्रहरी अपराध महाशाखाले गार्ड अमर तामाङ, माली सानुकान्छा तामाङ र खाना पकाउने जयबहादुर गुरुङलाई पक्राउ गरेको थियो । उनीहरू काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको रोहवरमा जनही ८ हजार धरौटी बुझाएर छुटेका छन ।

स्रोतका अनुसार झ्यालको जाली काटेर झा सुत्ने बेडसम्म को पुग्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।  झन्डै एक महिना बित्न लाग्दा पनि ८० वर्षीय झाको हत्यारा र हत्याको कारणसम्म टुंगो लगेको छैन।

नेपालको राजदूतका रुपमा पेरिस जानुभन्दा अघि झा परराष्ट्र मन्त्रालयको शिष्टाचार महापाल (चिफ अफ प्रोटोकल) थिए । उनी २४ मार्च १९९३ देखि ३१ डिसेम्बर १९९७ सम्म फ्रान्सस्थित नेपाली राजदूत थिए । उनि ३० वर्षसम्म मुलुकको परराष्ट्र सेवामा कार्यरत थिए ।  युरोपेली मुलुकहरुमा राष्ट्र प्रमुखको भ्रमण गराउन निकै कठिन रहेका बेला झा फ्रान्समा राजदूत रहँदा तत्कालीन राजा वीरेन्द्रले फ्रान्सको राजकीय भ्रमण गरे, सन् १९९४ मा ।

सन् १९९५ मा तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री माधवकुमार नेपालले र सोही वर्ष प्रधानमन्त्री मनमोहन अधिकारीले पनि डेनमार्कबाट फर्कने क्रममा फ्रान्सको औपचारिक भ्रमण गरेका थिए ।

उनले अघि बढाएको द्विपक्षीय सम्बन्धकै निरन्तरतास्वरुप सन् २००१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि फ्रान्सको भ्रमण गरेका थिए ।

परराष्ट्र मन्त्रालयमा रहँदा यूरोप र अमेरिका डेस्क हेरेका झ अमेरिका तथा युरोपेली मुलुकका कुटनीतिज्ञमाझ चर्चित थिए ।

Exit mobile version