Site icon ParisNepal.com – Nepali News From France

मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको निधन

पूर्व मन्त्री एवं मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा पद्मरत्न तुलाधरको ७८ वर्षको उमेरमा उपचारको क्रममा आइतबार काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको छ ।

हालका प्रधानमन्त्री केपी ओली गृहमन्त्री हुँदा मनमोहन अधिकारी नेतृत्वको एमाले सरकारमा उनी श्रम र स्वास्थ्य मन्त्री थिए। पञ्चायतकालमा राष्ट्रिय पञ्चायतको बैठकमै बहुदल माग गरेका थिए। तुलाधर दुई पटक सरकार र माओवादीबीच भएको वार्ताका मध्यस्थकर्ता थिए।

तुलाधरले बहुदल घोषणापछि २०४८ र २०५१ सालमा निरन्तर दुई पटक काठमाडौँबाट सूर्य चिह्नमा चुनाव जितेका थिए।

तर एमाले र माले फुटेपछि २०५६ सालमा भएको संसदीय निर्वाचनमा स्वतन्त्र वामपन्थीका रुपमा चुनाव लडेका उनले पञ्चायत कालका अन्तिम प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको भन्दा कम मत पाएका थिए। त्यसपछि तुलाधर कहिल्यै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिएनन्।

पछिल्लो समय आदिवासी जनजातीहरुको अधिकारका लागि आवाज उठाउँदै आएका उनले नेपालमा मानव अधिकारवादीका रुपमा परिचय बनाएका छन् ।

Exit mobile version