Site icon ParisNepal.com – Nepali News From France

राष्ट्रपतिले टीका लगाइदिँदा किन हटाइयो अगाडि बस्ने कुर्सी ?

बहालवाला र पूर्वविशिष्ट पदाधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीका ग्रहण गर्दा घुँडा टेकेका वा निहुरिएका तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।  भण्डारीलाई दोस्रो कार्यकालका लागि राष्ट्रपतिको सपथ खुवाएका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली, पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनलगायतले कुर्सीमा बसेकी राष्ट्रपति भण्डारीसँग घुँडा टेकेर वा अप्ठेरो गरी झुकेर टीका लगाएका तस्बिरहरु सामाजिक सञ्जालमा आइरहेका छन।

प्रधानमन्त्री केपी शर्मा ओली र उनकी श्रीमती, उपराष्ट्रपति नन्दबहादुर पुन र मन्त्रीहरूले राष्ट्रपति भण्डारीसँग अगाडि कुर्सीमा बसेरै टीका लगाए, तर अरू विशिष्टहरुले टीका थाप्ने बेलामा किन ती कुर्सी हटाइए?

राष्ट्रपति कार्यालयले सेनाको संस्कार र व्यवस्थापकीय कमजोरीका कारण बिशिष्ट व्यक्तिहरूले अप्ठेरोसँग टीका लगाउनु परेको बताएको छ। राष्ट्रपति नेपाली सेनाको परमाधिपति भएकाले उनीहरु राष्ट्रपतिसँग समान आसनमा बसेर टीका लगाउने चलन छैन रैछ।

प्रधानसेनापति टीका लगाउन आउनुअघि त्यहाँ कुर्सी थियो, उनले टिका थप्ने बेलामा कुर्सि हटाइएको रहेछ। थापाले निहुरिएर टीका थापे, पूर्वप्रधानसेनापति र प्रहरी प्रमुख सर्वेन्द्र खनालले पनि त्यसैगरी टीका लगाए, त्यसपछि आएका नेकपाका नेता वामदेव गौतमले अलिकति निहुरिएर टिका लगाए भने केहीबेरपछि आएका पूर्वप्रधानन्यायाधीश पराजुलीले दुबै घुँडा टेकेर लगाए। केहीबेर पछि भने फेरि त्यहाँ कुर्सी राखिएको र त्यसपछि सबैले कुर्सीमै बसेर टीका लगाएका थिए ।

नेपाली सेनाले हरेक गणमा दसैंको टीका लगाउने गर्छ। त्यहाँ आफ्ना कमाण्डरसँग टीका थाप्दा कि उभिएर वा कमाण्डर बसेको भए त्योभन्दा होचो आसनमा बसेर टिका थाप्ने चलन रहेछ।

नेपाली सेनामा भएको यो चलन समय सान्दर्भिक छैन । सेनामा जे जसो भए पनि रास्ट्रपतिले नेपालका बिशिस्ट ओहोदामा रहेका व्यक्तिहरु प्रधानसेनापति, प्रहरी प्रमुख, पूर्वप्रधानन्यायाधीशलाइ घुडा निहुरेर होचो भएर टिका लगाउनु लोकतन्त्रको मर्यादा बिपरित हो। रास्ट्रपतिले र रास्ट्रपति कार्यालयका कर्मचारीहरुले यो कुरा बुज्न जरुरि छ ।  संस्कार को निहुमा अरुलाइ होचो बनाउने काम राणा, राजा महाराजा, मुखिया र जमिन्दारहरुको पालामा चलेको थियो, अहिले पनि त्यहि संस्कार कायम राख्नु सामन्ती प्रवृत्ति देखाउनु जस्तै भएको भनि सामाजिक संजालमा व्यापक तर्कवितर्क भैरहेको छ।

Exit mobile version