Site icon ParisNepal.com – Nepali News From France

युक्रेनबाट फ्रान्स पुगेका नेपालीहरुलाई एनआरएनए फ्रान्सको अभिभावकत्व

रुस-युक्रेन द्वन्द्वबाट प्रभावित नेपालीहरुको उद्धार कार्य जारी रहेको छ। अधिकांश नेपालीहरु युक्रेन बाट युरोपिएन युनियन छिरिसकेको भएपनी उनीहरुको स्थायी बसोबासको बन्दोबस्त नभएकोले विभिन्न देशहरुमा अन्योल अवस्थामा गन्तव्य खोजिरहेका छन्।

युक्रेनको छिमेकी देशहरु हुँदै फ्रान्स पुगेका नेपालीहरु ट्रेन स्टेसन, बस स्टेसन, पार्क आदिमा रात बिताउन बाध्य थिए र अझै आउने क्रम जारी छ। खानेकुरा किन्न पनि गोजी टक्टक्याउनु पर्ने र कहिले एक छाकको लागी सापट गर्दै टार्नु पर्ने अवस्थामा पुगेका उनीहरुलाइ गैर आवासीय नेपाली संघ फ्रान्सले सहयोग गरेको छ। सामाजिक सञ्जाल र साथीभाईको माध्यमबाट सम्पर्क गरेपछि सँस्थाले उनिहरुको अभिभावकत्व ग्रहण गर्दै बस्ने खाने र उनीहरुको गन्तब्यमा (प्राय जसो पोर्चुगलमा) जाने व्यवस्था मिलाउन चाँजोपाँजो मिलाएको थियो। हालसम्म करिब २५० नेपालीहरु फ्रान्स हुँदै स्पेन/पुर्चुगल जाने क्रममा रहेको अनुमान गरिएको छ र ति मध्य करिब ९० जनालाइ एनआरएनए फ्रान्सले उद्वार गरी खानपान र बसोबासको व्यवस्था मिलाएको विवरण प्राप्त भएको छ। हिजो पनि ११ जना नेपालीलाई सहयोग गरिएको अध्यक्ष गीता थापा खनालले बताउनु भयो।

सँस्थाकी अध्यक्ष गीता थापा, उपाध्यक्ष लोक पुन, शिवराम भण्डारी, दिलिप गुरुङ त्यस्तै लक्ष्मण मल्ल, राजेन्द्र श्रेष्ठ, नारायण न्यौपाने आदिले सहयोगको लागी विशेष पहल गरेका थिए। त्यस्तै पेरिसवासी अन्य नेपालीहरुले पनि स्वतफुर्त रुपमा पनि सहयोग गरिरहेको पाइएको छ।  नेपालीहरु आउने क्रम अझै जारी भएकोले उद्वारको लागी सहयोग गरिदिन अन्य संघ सँस्थाहरुलाइ पनि आह्वान गरिने बताउदै अध्यक्ष गीता थापाले संयुक्त र सहकार्यको अवाधरणा हुनुपर्नेमा जोड दिनुभयो। उहाँले अझ थुप्रै नेपालीहरुले फोन मार्फत सहयोगको लागि अनुरोध गरिरहेको बताउनु भयो। फ्रान्समा आइपुगेका कयौं नेपालीहरुको नेपाली पासपोर्ट वा ट्राभल डकुमेन्ट नभएकोले नेपाली राजदुतावास बाट सहयोगको अपेक्षा गरेको बताउनु भयो। नेपाली राजदुतावास पेरिसले फ्रान्स र पोर्चुगल समेत हेर्ने गरेको छ।

अध्यक्षले यहि शनिवार, पोर्चुगल, स्पेन, जर्मनी, पोल्याण्ड लगायतका एनसीसीहरु संगको भेलामा एनआरएनए फ्रान्सले गर्दै आइरहेको सहयोगको बारेमा जानकारी दिएको बताउदै उक्त भेलाले सम्बन्धित देशका एनसीसीहरु र दुतावासको उचस्तरीय समिति बनाएर काम गर्न अगाडी बढ्ने निर्णय गरेको जानकारी दिनुभएको छ।

युद्धमा अलपत्र परेका नेपालीहरुलाई जर्मनीस्थित नेपाली दुतावासले निःशुल्क यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) जारी गरेको छ । हालसम्म ५६ जना नेपालीहरुले यात्रा अनुमति पत्र लिएका छन् । पत्र लिएकाहरु युरोपका अन्य देशलाई गन्तव्य बनाई रहेका छन्। नेपाली दुतावासलाई सम्पर्क नगरी जर्मन छिरेकाहरुलाई जर्मनको अध्यायगमन विभागले नियन्त्रणमा लिएको र दुतावासको पहलमा छोडिएको थियो

युद्ध शुरु भएपछि युक्रेनमा रहेका नेपालीहरु आफ्नो ज्यान बचाउन पोल्याण्ड, स्लोभाकिया, फ्रान्स, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेका छन् ।

 

Exit mobile version