Site icon ParisNepal.com – Nepali News From France

फ्रान्समा एकै दिनमा झन्डै १ लाख ८० हजार संक्रमित, हरेक ३ महिनामा कोभिड खोप लगाउनु पर्ने

फ्रान्समा मंगलबार विगत २४ घण्टाको कोरोना संक्रमितको नयाँ संख्या १ लाख ७९ हजार ८०७ कायम भएको छ । महामारी फैलिए यताकै फ्रान्समा देखिएको यो सबै भन्दा धेरै संक्रमितको संख्या हो । विगत ७ दिनदेखि लगातार कोरोनाका सर्वाधिक संक्रमित भेटिएका छन् । गत शनिबार यसै भाइरसका कारण १ लाख ५ हजार संक्रमित र ८४ मानिसको मृत्यु भएको थियो ।

युरोपमा बेलायतपछि फ्रान्समा ओमिक्रोन संक्रमितको संख्या बढी देखिएको छ । फ्रान्समा हाल सम्म २ करोड ३० लाखले कोभिडको बुस्टर डोज लिसकेका छन्। अहिले कोभिडको कारण दैनिक करिब १७० जनाको मृत्यु हुने गरेको छ भने करिब दैनिक २८० जना अस्पतालको सघन कक्षमा भर्ना हुने गरेका छन्।

क्रिसमस सकिए संगै सरकारले कोभिड रोकथामको लागि विभिन्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ।  ओमिक्रोन भाइरसबीच बढेको कोरोना संक्रमणले फ्रान्समा त्रास बढेको छ । शुक्रबार स्वास्थ्य अधिकारीले वयस्कलाई कोरोनाको दुबै डोज लगाएको ३ महिनापछि बुस्टर डोज लगाउन आग्रह गरेका छन् । फ्रान्समा हालसम्म १ लाख २२ हजार ५४६ मानिसको मृत्यु भइसकेको छ । यसैगरी ७६.५ प्रतिशतलाई पूर्ण रुपमा खोप लगाइसकिएको छ ।

हाल फ्रान्समा कोरोनाको पाँचौ लहर चलिरहेको छ । प्रधानमन्त्री जँ कास्टेक्सले महामारी ‘कहिले अन्त्य नहुने फिल्मजस्तो’ भन्दै संक्रमण थप फैलिन रोक्न नयाँ योजना सार्वजनिक गरेका छन् । भाइरसको विस्तारको गती रोक्न नाइट क्लब बन्द गरिएको छ । नयाँ वर्षमा आतिशबाजीको कार्यक्रममा पनि रोक लगाइएको छ । तर पनि कर्फ्यु भने लागू गरिएको छैन। स्वास्थ्य मन्त्री ओलिभिए वेरेनले आफूहरुले बूस्टर डोजमा जोड दिएको बताएका छन् ।

घरबाटै काम गर्न सक्ने सबैलाई ‘वर्क फ्रम होम’ अनिवार्य गरिने भएको छ। यसरी काम गर्नेहरुले कम्तीमा तीनदिन घरबाट काम गर्नुपर्नेछ। यस्तै, ‘इन्डोर इभेन्ट’मा दुई हजार जना र खुल्ला स्थानमा हुने समारोहमा भने ५ हजारजनासम्म मात्रै सहभागी हुन पाउनेछन्। यस्तै, सार्वजनिक सवारी साधानमा लामो दुरीको यात्रा गर्दा बाटो बिचमा खान र पिउन पनि रोक लगाइने जनाइएको छ। नाइटक्लबहरु अर्को सूचना जारी नभएसम्म बन्द रहने बताइएको छ।  होटेल रेस्टुरेन्ट हरु भने स्वास्थ्य मापदण्ड पालना गर्दै खुलै रहने छन्।

Exit mobile version