Site icon ParisNepal.com – Nepali News From France

“महाकाली सन्धिमा नदी बेचेको हाेइन, फिर्ता ल्याइएको हाे” : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली नदी बेचेको नभइ फिर्ता ल्याएको बताएका छन । कञ्चनपुरको वेदकोट नगरपालिकामा निर्माण गरिने औद्योगिक क्षेत्रको शिलान्यास गर्दै भाषण गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारले कञ्चनपुरको वेदकोट नगरपालिकामा दैजी छेला औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो।

“मैले धेरै गाली खाएको तपाईँहरूलाई थाहा होला । महाकाली सन्धि गरेर नदी बेच्यो भनेर आरोप लगाइन्छ, ‘नदी बेचेको होइन । त्यत्तिकै अर्काले लगिरहेको पानी आफ्नो खेतमा हाल्ने फैसला गरिएको छ । बेचेको होइन । फिर्ता ल्याइएको छ ।”, प्रधानमन्त्री ओलीले भने।

टनकपुर र महाकाली सन्धि को विरुद्वमा खरो रुपमा उत्रिएका मदन भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो। त्यसको २ बर्ष पछि २०५२ साल माघ २९ गते भारतको राजधानी नयाँदिल्लीमा नेपाल र भारत सरकारबीच विवादास्पद महाकाली सन्धि भएको थियो। सन्धि गर्दा नेपालमा प्रधानमन्त्री शेरबहादुर देउवा थिए भने नेपाल भारत बार्ता टोलिका प्रमुख केपी शर्मा ओली थिए। मनमोहन अधिकारी अन्तिम समयसम्मै सम्झौताको विरोधमा थिए ।

देउवा, ओली र कांग्रेस एमालेका अधिकांस नेताहरु सम्झौताको पक्षमा रहेकाले भारतले सजिलै सन्धि गराउन सफल भयो। एमाले भित्र केहि नेताहरु असहमति राख्दै गए र पार्टी फुट्ने स्थिति आयो। उखान टुक्का भन्न माहिर केपी ओलीले महाकाली सन्धिका विरोधीहरुलाइ “फट्यांग्राले लात्ती हान्दैमा हात्ती ढल्दैन” भनेर प्रहार गरेका थिए। त्यतिबेला जनताको आखामा भ्रम छर्न महाकाली नदी साझा हो पानी आधा आधा हो” भन्ने नारा फैलाइएको थियो। तर सम्झौता आधा आधामा भएको थिएन, नेपालको सिमाना बारे गलत तथ्यांक लेखिएको थियो, भारत कुनै पनि हालतमा सन्धि गराउन लागिपरेको थियो। भारतको दाउ पानीमा मात्र थिएन नेपाली भूभागमा पनि थियो। 

महाकाली सन्धिकै कारण नक्सा प्रकरणमा नेपाल कमजोर भएको थियो। उक्त सन्धिमा नेपालको सिमाना बारे ठुलो त्रुटी भएको र त्यसको आधारमा नै भारतले लिम्पियाधुरा, लिपुलेक आफ्नो नक्सामा परेको थियो। यो सन्धिको बारेमा उच्च राजनीतिक नेताहरु प्राय मौन रहे पनि जनस्तर बाट आवाज उठिनै रहेको छ। इतिहास मेटेर मेटिने होइन।

महाकाली सन्धि अनुमोदन गर्दा समृद्वीको सुर्य पश्चिम बाट उदाउछ भनिएको थियो। आज करिब २५ बर्ष पछि पुनः प्रधानमन्त्रीले विकास पश्चिमबाट उदाउछ भनेका छन्। पश्चिममा अधिकांस युवाहरु भारत र खाडीमा श्रम गर्दै छन।

Exit mobile version