Site icon ParisNepal.com – Nepali News From France

नेपाली भूमि मिचिँदा पनि जनता घरभित्रै बस्न बाध्य, नेपाल सरकारलाइ थाहै नदिइ उद्घाटन

नेपाली भूमिमाथि हस्तक्षेप गरेर भारतले ८० किलोमिटर सडक निर्माण गरिसकेर उदघाटन गरेको खबर भारतीय संचार माध्यम र सामाजिक सञ्जालमा आएपछि नेपालमा पनि त्यो समाचार सनसनीपूर्ण बनेको छ। सरकारले समेत थाहा पाएपछि अब के गर्ने भन्ने बिषयमा छलफल भैरहेको छ। त्यस्तै राजनीतिक पार्टीका बिज्ञप्तिहरु आउन पनि सुरु भएका छन। तर लकडाउनको बेला नेपाली भूमि मिचिँदा जनता भने घर भित्र थुनिएर टुलुटुलु हेर्न बाध्य छन।

तस्विर: रासस।

भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग उद्घाटन गरेको भारतका रक्षामन्त्री राजनाथ सिंहको ट्विटरबाट थाहा भएको हो। सुरक्षा अधिकृतहरु संगको बैठकमा ताली बजाउदै उनले नेपाल हुँदै जाने बाटोको उद्घाटन गरेका थिए। सडकको उद्घाटनमा गर्दै रक्षामन्त्री सिंहले ट्वीटरमा “खुसी व्यक्त गर्दै “बिआरओ (बोर्डर रोड अर्गनाइजेशन)ले धार्चुलादेखि लिपुलेक चीन सीमासम्म कैलाश मानसरोवर यात्रा मार्गको रूपमा चिनिने सडक जोडेको छ ।” भन्दै यो ठुलो उपलब्धि भएको उल्लेख गरेका थिए।

सन् १८१६ मा भएको सुगौली सन्धी अनुसार लिम्पियाधुरामा रहेको काली नदी भारत र नेपालको सीमा हो। तर, भारतले भने सन्धीको पालना नगरी काली नदीबाट बढेर लिपुलेक र कालापानीसम्मलाई नै आफ्नो राजनीतिक नक्सामा राखिसकेको छ। नक्सामा मात्र होइन, भौगोलिक रुपमा नै आफ्नो क्याम्प खडा गरेर पूरै नियन्त्रणमा लिइसकेको छ।

शुक्रबार उद्घाटन गरिएको कुल ७८ किलोमिटर लामो सो सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्दछ। नेपालले आफ्नो भनेर दावी गरिरहेको भूभागमा कुनै परामर्श, छलफल बिनानै बाटो निर्माण गरिएकोले भारतको अहिले चर्को बिरोध गरिएको छ भने नेपाल सरकारले बार्ता बाट समस्या समाधान गर्न ढिला सुस्ती गरिरहेको र बाटो निर्माण बारे उद्घाटन हुने दिन सम्म अनबिज्ञ रहेको आरोप लागेको छ।

Exit mobile version